सुजित र डिना उत्कृष्ट खेलाडी
हेटौंडा, जेठ ११ । मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् ।
हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन् । सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते । महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते ।
दश हजार मिटर दौडमा महिलातर्पm सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट समय निकालिन् ।दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरिन् । यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए ।
महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् ।उनले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरिन् ।ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जिते । यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे ।
काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जिते । चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रह्यो । पुरुषमा भने सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते ।पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उचाईमाथि उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाए ।
महिलामा भने चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जिते । जाप्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल भए । पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटर पर फ्याके ।मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जिते ।
पुरुषमा चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भए । सुजितले तीन स्वर्ण र एक रजत पदक जिते । डिनाले दुई स्वर्ण र एक रजत जिते । प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र ९ कांस्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जिते ।