Logo

गैर आवासीय नेपाली संघ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुँदै



काठमाडौँ । मे महिनाको अन्तिममा गैर आवासीय नेपाली सङ्घ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ ।
गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका र ग्लोबल गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् क्यानडाको संयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो । सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो ।

सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृद्धिमा गैर आवासीय नेपाली सङ्घको भूमिका भन्ने मूल विषयवस्तु अन्तर्गत गैर आवासीय नेपालीहरूको हित र सरोकारहरूसँग सम्बन्धित महत्त्वपूर्ण सवालहरूमा छलफल हुने जानकारी दिए । उनले भने, ‘समग्र नेपालको विकास र सामाजिक समृद्धिमा उनीहरूको योगदानलाई प्रवर्द्धन गर्न एनआरएनको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्य राखेको छौँ ।’

‘सम्मेलनमा नेपालको ऊर्जा सङ्कट समाधानका लागि ग्रिन हाइड्रोजन उत्पादन तथा खपत: लगानीका अवसर र सम्भावनाहरू, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरूमा रहेको ज्ञान, सीप, पुजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरूको लागि दोहोरा नागरिकता कानुनको आवश्यकता र अविलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली सङ्घको सङ्गठनात्मक विकास र आगामी रणनीति तथा समतामूलक र सामाजिक न्यायपूर्ण समाजका लागि गैर आवासीय नेपालीहरूले खेल्नु पर्ने भूमिका सवालहरूमा छलफल र बहस केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

संयोजक पोखरेलले एनआरएनएबीच बृहत्तर एकताका लागि सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए ।

त्यस्तै अमेरिका अध्यक्ष डा सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए । ‘सम्मेलन केवल सम्मेलनका लागि मात्रै नहोस् भन्नेमा हामी सचेत छौँ । उपलब्धिमूलक कसरी बनाउन सकिन्छ भन्नेमा हामी बढी केन्द्रित छौँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र विदेशमा रहेका नेपालीको हितका पक्षमा एनआरएनको भूमिकालाई प्रभावकारी बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ ।’

साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ । समाचार रातोपाटी बाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता