Logo

सबै भ्रष्टाचारीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्छ : एमाले नेता



काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् ।
‘यो नीति तथा कार्यक्रम कागजमा लेखिएको कालो अक्षरको थुप्रो मात्र हो । यो गठबन्धनलाई आफ्नो आयु त थाहा छैन, आफूले गर्ने काम कसरी थाहा पाउँछ ?

गठबन्धन आपसमा लुछाचुँडी गरेर कहिले ढल्ने हो, त्यही टुंगो छैन । यस्तो अवस्थामा यसले जनताको मुख हँसिलो, रसिलो र उज्यालो बनाउने कुरा कसरी पत्याउने ?’, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

सरकारले मुलुकमा विद्यमान आर्थिक संकट भुलेर बाँड्ने कुरा मात्र गरेको तर आम्दानीको स्रोत देखाउन नसकेको पनि पण्डित औंल्याए । उनले भने, ‘आर्थिक मन्दी छ । उद्योगी व्यवसायीमा निराशा छ । कतिले आत्महत्या गरे । सरकारले दाताको विश्वास गुमाएको छ । अनि कसरी मुलुक र जनताको हित हुन्छ ?’

नक्कली भुटानी शरणार्थी प्रकरणका सबै दोषीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्ने पनि उनले बताए । पण्डितले थपे,’ कोही भ्रष्टाचारी राजनीतिक ब्यानरमा छन् भने तिनलाई १० प्रतिशत दण्ड थपेर राख्नुपर्छ । तिनलाई टुँडिखेलमा चिडियाखाना बनाएर राख्नुपर्छ ताकि तिनको सात पुस्तासम्म थाहा पाऊन् ।’

भ्रष्टाचारीलाई जोगाउन कोही लाग्छ भने आफैं सकिने पनि पण्डितले औंल्याए । उनले भने, ‘दण्डहीनताबाट मुलुक अगाडि बढाउन सक्दैन । दण्डहीनतामा रमाउनेले देश चलाउन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता