Logo

सात बुंदे माग राखी एनएफपीजे द्वारा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश



काठमाण्डौं,जेठ ३ । राष्ट्रिय फोटोपत्रकार समुहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । बुधबार समुहले ७ बुंदे माग राखी प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक,हितका लागि सरकारका तर्फबाट सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन उल्लेख गरिएको छ । त्यस्तै फोटो पत्रकारिताको माध्यमबाट जिविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र सम्मानमा पनि ब्यवस्था गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । ‘मागहरु जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने।

ज्ञापनपत्र को पूर्ण पाठ :

सम्माननिय प्रधानमन्त्री ज्यू,
विषम परिस्थितिमा यहाँ नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाईको साथ पूर्ण सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

प्रस्तुत विषयमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक, हित र व्यवस्थित बनाउनको लागि २०५३ साल असोज ६ गते स्थापना भएको राष्ट्रिय फोटो पत्रकार समुह नेपाल जुन फोटो पत्रकारहरुको साझा संस्था हो । यस संस्थाले २५ वर्ष देखी फोटो पत्रकारहरुको हक, हितमा काम गर्दै आई रहेको छ । यस संस्थाले अहिलेसम्म दर्जनौ फोटो पत्रकारहरुलाई आपत विपत परेको बेलामा सहयोग गरि सकेको छ । काठमाडौं उपत्यका लगायत मोफसलमा विभिन्न जिल्लाहरुमा फोटोग्राफी सम्बन्धी ट्रेनिङ्गहरु दिनुको साथै आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउन लागि परिरहेको छ ।

यस संस्थाले नेपालको सातै प्रदेशमा प्रदेश शाखा गठन गर्नुको साथै काठमाडौ लगायत धादिङ्ग, नुवाकोट, चितवन, मकवनपुर, काँस्की, बाग्लुङ्ग, डडेलधुरा, कैलाली, बुटवल लगायतका जिल्लाहरुमा जिल्ला शाखा गठन गर्नुका साथै अन्य जिल्लाहरुमा बन्ने क्रममा रहेको छ ।

सम्माननिय प्रधानमन्त्री ज्यू
एउटा ईतिहास बोकेको संस्था जुन नेपालमा परिवर्तनको लागि आन्दोलनको सुरुवातीसंगै स्थापना भएर संस्थागत रुपमा फोटो मार्फत जनतालाई सुसचित गर्दै आई रहेको छ । विश्वका विभिन्न देशहरुमा फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुटै स्थान दिएर सम्मान गरेता पनि नेपालमा त्यसो हुन सकेको छैन । अब ढिला भई सकेको छ । फोटो पत्रकारितालाई पनि राज्यले उचित स्थान दिएर समान व्यवहार गर्ने दिन । विश्व अहिले डिजिटल बनिसकेको अबस्थामा सम्माननिय प्रधानमन्त्री ज्यू समक्षा निम्न बुँदाहरुमा ध्यानकर्षण गराउन चाहान्छौं ।

१, यस गौरवमय ईतिहास बोकेको संस्थाको अहिले सम्म आफ्नै भवन नभएकोले राज्यको तर्फबाट यस संस्थालाई कार्यालय सञ्चालन गर्नको लागि राज्यबाट भवन अथवा भवन निर्माणको लागि जग्गा उपलब्ध गराईयोस् ।

२, यस संस्थाका सदस्यहरुलाई व्यवसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ्ग, गोष्ठी, सेमिनार आदी दिईरहनु पर्ने भएकोले नेपाल सरकारबाट वार्षिक रुपमा यस संस्थालाई बजेटको व्यवस्था नियमित उपलब्ध गराईयोस् ।

३, यस संस्थाले प्रत्येक वर्ष वैशाख १३ गते पहिलो पटक गोरखापत्रमा फोटो प्रकाशन भएको दिनलाई राष्ट्रिय फोटो पत्रकार समुह नेपालले नेपाल भरिका फोटो पत्रकारहरुलाई समेटेर फोटो प्रतिस्पर्धा तथा राष्ट्रिय फोटो पत्रकार एवार्ड गर्दै आई रहेको साथै अग्रज फोटो पत्रकारहरुलाई सम्मान गर्दै आई रहेको कार्यक्रमको लागि नियमित आर्थिक अनुदानको व्यवस्था गरियोस् ।

४, विगत देखीका वर्तमान सम्मको फोटोहरु संकलन गरेर राख्न र भावि सन्ततिलाई देखाउन र ईतिहासलाई जिवित राख्नलाई फोटो संग्राहलयका लागि जग्गा उपलब्ध गराई भवन निर्माणका लागि अर्थ ब्यवस्थापन गरियोस ।

५, समय अनुसार अपडेट रहन साथै फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्नलाई सहुलियत दरमा ऋण उपलब्ध गराईयोस् ।

६, हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समाबेस गरि फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरियोस ।

७, फोटो पत्रकारहरुका क्यामेरा तथा पत्रकारहरुको विमाको सुनिश्चितता गरियोस् ।
तसर्थ यस समुहले विविध सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्न बजेट अभाव भएकोले फोटो पत्रकारिताको सम्वद्र्धन तथा प्रर्वद्धनका लागि आगामी आ.व. को बजेट तथा कार्यक्रममा समुहको माग सम्बोधन गर्दै आवश्यक बजेट समेतको नियमित व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिनहुन हार्दिक अनुरोध छ ।
…………………
प्रदिपराज वन्त
अध्यक्ष
राष्ट्रिय फोटो पत्रकार समुह नेपाल

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता