Logo

पार्टीभित्र टिकट वितरण र उम्मेदवार छनोटमा आन्तरिक समीक्षा हुनेछ – सुर्य थापा (सांसद नेकपा एमाले)



काठमाडौं,बैशाख १३ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले तीनवटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर अतिरञ्जना भइरहेको टिप्पणी गरेका छन् ।
‘एमालेले गत मंसिर ४ मा पाएका केही मत गुमाएको छ । तर त्यो मत सत्ताधारी गठबन्धनले पाएको छैन । त्यो मत नयाँ शक्तिभन्दा पनि व्यक्तिगत आकर्षणमा परेर गएको छ । त्यतिबेला पनि तीनवटै क्षेत्र हामीले जितेका होइनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै थापाले भने ।

उपनिर्वाचनको नतिजा आफ्नो पार्टीको भविष्य नामेट हुने गरी नआएको पनि दाबी पनि उनले गरे । थापाले थपे, ‘बारा २ मा २०७४ र २०७९ मा हाम्रो उम्मेदवारी नै थिएन । गत मंसिर ४ मा समानुपातिक मत ९ हजार ल्याएका थियौं, अहिले १० हजारभन्दा बढी मत आयो । तनहुँमा डा. स्वर्णिम वाग्लेको व्यक्तित्वका कारण ११ हजार भोट घटेको हो । चितवनमा पनि केही भोट घटेको छ । त्यहाँ हामी तेस्रो शक्ति थियौं, अहिले पनि तेस्रो नै छौं । तर हाम्रो भविष्य नै नामेट हुने वा तिरस्कार हुने गरी परिणाम आएको छैन । तथ्यले यसो भन्दैन ।’ तनहुँ १ मा सबैभन्दा ठूलो धक्का नेपाली कांग्रेसलाई लागेको पनि उनले बताए ।

पार्टीभित्र टिकट वितरण र उम्मेदवार छनोटमा आन्तरिक समीक्षा हुने पनि थापाले औंल्याए । उनले भने, ‘हामी आत्तिएका छैनौं तर गम्भीर छौं । मिसन ग्रासरुटलाई खिसीट्युरी गर्ने गरी उपनिर्वाचनलाई जोड्नु आवश्यक छैन । कानको कुरा गर्दा टुप्पीको कुरा गर्न पनि आवश्यक छैन । एमालेमा बसेर घन्टीमा भोट हाल्नेलाई सम्झाइबुझाइ गर्छौं ।’

एमालेले सच्चिनुपर्ने कुनै दरकार नभएको पनि उनको दाबी छ । उनले भने, ‘रवि लामिछाने र स्वर्णिम वाग्लेको जितमा म खुसी नै छु । म बधाई दिन्छु । राम्रो गर्नुस् भन्छु । तर एमालेले सच्चिनुपर्ने गरी के गल्ती गरेको छ ? एमालेले सच्चिनुपर्ने कुनै दरकार छैन । केही क्षेत्रको मत परिणामले पुराना पार्टी काम लागेनन् भन्ने तरिका नै गलत हो ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता