Logo

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन



काठमाडौं, वैशाख ७ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरपालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता