Logo

एनएफपिजे ले गर्‍यो फोटो प्रदर्शनी असनमा देखियो यस्तो रौनक



काठ्माण्डौं,चैत १६ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५ औं रजत जयन्तीको अवसर पारेर जात्रा पर्व, हाम्रो गर्व : सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी आयोजना गरेको छ।

बिहिबारदेखि तीन दिनसम्म चल्ने फोटो प्रदर्शनी काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष खड्गीले फोटोको माध्यमबाट जात्रालाई अन्तराष्ट्रिय समुदायसम्म पुर्याउने कार्य गरेकोमा एनएफपिजेलाई धन्यवाद दिए।

राष्ट्रिय फोटो पत्रकार समुह, नेपालले संयोजन गरेको उक्त प्रदर्शनीकाे आयोजक सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति रहेकाे छ भने  काठमाडौँ महानगरपालिका वडा नं. १७, २१, २५ ,२७ र २८ सहयाेग गरेको छ। प्रदर्शनी रथयात्राकाे प्रमुख विश्राम स्थलमा रहनेछ। आज पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन लगन टोलमा हुनेछ।

प्रदर्शनीमा करिब ३० व्यवसायिक फोटोपत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दाबढी फोटोहरू राखिएका छन् । रथयात्रा मात्रै नभएर सेतो मच्छिन्द्रनाथ जात्रा अन्य विभिन्न पक्ष , प्रकियासँग सम्बन्धित छ, सो बारे जनमानसमा जानकारी दिनु यो प्रदर्शनीकाे मुख्य उद्देश्य रहेकाे कार्यक्रम संयोजक सुनिल शर्माले बताए।

हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधि विधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ।

हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।

लगनमा मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पु¥याइन्छ ।

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्य अबलोकितेश्वर पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता