Logo

आज उपत्यकामा सार्वजनिक विदा, घोडेजात्रा मनाइँदै



काठमाडौं, चैत ७ । काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ ।

चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ ।

उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ । पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथन समेत रही आएको छ । हाल आएर हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा मनाउने गरिएको छ ।

जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीको कमाण्डिङ अफिसरको नेतृत्वमा घोडाघोडीबाट कौशलपुर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ ।

आज सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ।

यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नाका साथै जात्राले देशमा शुभमङ्गल ल्याउने विश्वास गरिन्छ। पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो।

वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ–जहाँसम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ।

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि पानी १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ।

घोडेजात्राको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगणलगायत विशिष्ट महानुभावको सहभागिता हुनेछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता