Logo

राप्रपा उपप्रधानमन्त्री पाएर रमाउनेभन्दा ‘सर्भिस डेलिभरी’का लागि सरकारमा जाने होः सांसद प्रधान



काठमाडौं, १४ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद ध्रुवबहादुर प्रधानले अहिलेको गठबन्धन सरकारमा ससर्त सामेल हुने बताएका छन् ।
‘हामीले जनतासँग राष्ट्रियता, सेवाप्रवाह, सुशासन आदि वाचा गरेका थियौं । त्यो अरु दलले पनि गरेकै हुन् । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ मा राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक बिदा दिनुपर्छ भन्ने पनि माग छ । त्यसमा पनि कसैको विमति होला जस्तो लाग्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानले भने ।

उनले संसदीय दलको नेता राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाँदा उचित हुने मत आएको पनि औंल्याए । प्रधानले थपे, ‘सरकारमा को को जाने, कसरी जाने भन्ने सम्पूर्ण जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिएका छौं । बाँकी कुरा आज बिहानको बैठकमा तय हुन्छ । संसदीय दलको नेताकै नेतृत्वमा जाँदा उचित हुन्छ भन्ने कुरा आएको छ । छलफलका आधारमा निर्णय हुन्छ ।’

राप्रपाले उपप्रधानमन्त्री मागेर जानुभन्दा पनि जनतालाई के डेलिभरी दिन सक्छौं भन्ने हिसाबले सोचेको पनि प्रधानले बताए । उनले भने, ‘फलानो पद पायौं भनेर रमाइलो मान्नु एउटा कुरा हो । हामी नचाहिँदो कुरा माग्दैनौं । यो मागेर गयौं वा नदिएर गएनौं भन्दैनौं । आफ्नो हैसियत अनुसार जान्छौं । सरकारमा जानुको मुख्य अर्थ सर्भिस डेलिभरीका लागि हो । राजनीतिक स्थायित्वका लागि हो ।’ उनले राप्रपा सातै प्रदेशका सरकारमा सामेल हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता