Logo

‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा



काठमाण्डौं,मङ्सिर १४ । आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स मँगलबार सार्वजनिक गरिएको छ ।
भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ । गोर्खा वारियरको यतीबेला फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको छ ।

सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्बिरमार्फत फस्ट लुक्समा समेटिएको छ । एउटा पोष्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रुपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् ।

यस्तै अर्को पोष्टरमा रितेश सहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन् ।
मँगलबार सार्वजनिक गरिएको तेश्रो पोष्टरमा मुख्य अभिनेता रितेश चाम्ससहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकहरुको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेका छन् । यी सबै पोष्टरहरु खैरो रँगमा तयार गरिएको छ । युद्ध सम्बन्धि ऐतिहाँसिक कथामा चलचित्र रहेकाले पोष्टरको रँग ‘ग्रे कलर’मा तयार गरिएको निर्देशक चाम्सले बताएका छन् ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतकाकलाकारको मुख्य भूमिका रहेको छ ।
यस अघि दर्जन सफल चलचित्र निर्देशन गरिसकेका भर्सटाईल निर्देशक मिलन चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा पुर्याउँदै छन् । चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।

यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता