Logo

सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् – प्रचण्ड



काठमाण्डौं,असोज १६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् ।

दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार बिहान एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’
हाम्रा चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो । हामी नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता हो ।’

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’

यस्तो छ शुभकामना संदेशको पुर्ण पाठ :- 

दशैं, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो । हामी नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता हो ।
हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।
सांस्कृतिक पर्वहरुको श्रृङ्खला भित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा, असत्य माथिको सत्यको विजयका रुपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरुले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै पुनः एकपटक उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता