Logo

चाडपर्व लक्षित बजार अनुगमन



काठमाण्डौं ,असोज १० । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै आफ्नो पालिकाभित्र स्थानीय तहले अनुगमन सुरु गरेका हुन् । चाडपर्वको मौका छोपी कृत्रिम अभाव गर्ने र महँगी बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि अनुगमन सुरु गरिएको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बताए । नगर क्षेत्रभित्र सञ्चालित खाद्यान्न पसलमा अनुगमन थालिएको र यो निरन्तर रहने उनले बताए। अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गर्ने गरिएको छ ।

व्यास नगरपालिकाले आइतबारबाट बजार अनुगमन सुरु गरेको हो । व्यास–३ स्थित गुप्ता किराना पसल, चन्द्रकेशरी तरकारी पसल, विजय तरकारी पसल, राजकुमार किराना पसललगायतमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मूल्यसुची सर्वसाधारणले देख्ने ठाउँमा राख्न, नगरपालिकामा व्यवसाय दर्ता गर्न सुझाव दिइएको व्यास–३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाले पनि बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ । खाद्यान्न, किराना, तरकारी पसलमा निरन्तर अनुगमन जारी राखिने उपप्रमुख खुमबहादुर विकले जानकारी दिए । बन्दीपुर गाउँपालिकाले पनि बजार क्षेत्रमा अनुगमन सुरु गरेको छ । गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र बन्दीपुर–१ डुम्रे बजारमा अनुगमन सुरु गरिएको वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पनि कार्य क्षेत्रभित्रका पाँच जिल्लामा अनुगमन निरन्तर राखेको प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए । “चाडपर्वका बेला मात्र नभई कार्यालयको तर्फबाट निरन्तर अनुगमन भइरहन्छ”, उनले भने, “सीमित स्रोत र साधनका बाबजुद कार्य क्षेत्रभित्रका जिल्लामा अनुगमन चलिरहेको छ ।” उक्त कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको बजार अनुगमनको अधिकार छ ।

स्थानीय तहका अलवा जिल्ला प्रशासन कार्यालय तनहुँको तर्फबाट पनि बजार अनुगमन भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमनलाई तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । “स्थानीय तहका अलवा हाम्रो तर्फबाट पनि बजार अनुगमनलाई सहयोग भइरहेको छ, अरु बेलाभन्दा चाडपर्वमा विशेष चनाखो भएर बजार अनुगमन गरिरहेका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता