Logo

घटस्थापना बडादशैंको आज पहिलो दिन जमरा राखेर मनाइंदै



प्रा. डा. रामचन्द्र गौतम –  घटस्थापना बडादशैं को पहिलो दिन हो । घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ । १० दिन मनाउने भएकाले यसलाई दसैं भनिएको हो । दसैंका विभिन्न नाम छन् । दुर्गाको पूजा हुने भएकाले दुर्गोत्सव र शरद ऋतुमा मनाइने भएकाले शारदोत्सव पनि भन्ने चलन छ ।

घटस्थापना भनेको जमरा राख्ने दिन हो । पूजाकोठा वा दसैंघरमा नवदुर्गा भवानीको पूजा गरी शुद्ध माटो र बालुवा ल्याएर वेदी बनाउनुपर्छ । र, धान-जौमाथि घटस्थापना गर्नुपर्ने हुन्छ । घट चाँदी, तामा, माटोको पनि हुन्छ । कसैकसैले मकैको जमरा पनि राख्छन् । तर खासमा जौबाट जमरा राख्नुपर्छ । जौको पुष्प देवीका लागि असाध्यै प्रिय हुन्छ । जमराका लागि जौ टुसा आउने खालको हुनुपर्छ ।

नवदुर्गाको पूजा तीनथरी प्रचलनमा छन् । सात्विक पूजामा फूल पुष्प, अर्घ आदि प्रयोग हुन्छ । राजसमा फूल पुष्प, अर्घका अतिरिक्त बलि समेत दिइन्छ भने तामसमा पूजामा फूल पुष्प अर्घ, बलि मात्र होइन, रक्सीसमेत राखेर चढाउने चलन छ ।

कसैको घटस्थापना नगर्ने तर जमरा राख्ने चलन हुन्छ । कसैले प्रतिपदाका दिन राख्छन्, कसैले द्वितीया दिन गर्छन । शास्त्रीय मान्यता अनुसार दुर्गाको पूजा गरेर मात्र जौ रोप्नुपर्छ । कसैले आजबाट दशमीसम्म पूजा गर्छन् । कसैले सप्तमीदेखि मात्र पूजा गर्छन् । सबैले आफ्नो परम्परा पछ्याउने हो । यसपालि घटस्थापनाको शुभ समय

१०ः२३ बजे छ ।
देवीले धन, सम्पत्ति, शक्ति, विद्या, बुद्धि र विजय सबथोक दिन्छिन् । उनको शक्तिकै कारण सुण्डमुण्ड, महिषासुर आदिको वध हुन सक्यो । नवदुर्गा मानोवान्छा सिद्ध गर्ने देवी हुन् । तर, यसमा श्रद्धा, विश्वास र निष्ठा हुनुपर्‍यो ।
दुर्गापूजा मानव मात्रका लागि हो । जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउन लागि हो । बडादसैंमा महाकाली, महालक्ष्मी, सरस्वती आदि नौ भगवतीको पूजा हुन्छ । महाकाली शक्तिकी अधिष्ठातृ देवी हुन् । उनको उपासनाले शक्ति प्राप्त हुन्छ । महालक्ष्मीका कारण धन, सम्पत्ति, ऐश्वर्य प्राप्त हुन्छ । सरस्वतीको उपासनाले विद्या, बुद्धि प्राप्ति हुन्छ ।(तस्बिर मुकुन्द कालिकोटे )

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता