Logo

हरितालिका तिजका अवसरमा राष्ट्रपतिले दिईन शुभकामना- सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने विश्वास



काठमाण्डौं,भदौ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

आज शुभकामना सन्देश दिँदै राष्ट्रपतिले यस पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने बताइन् । नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै उनले यस पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिनेमा जोड दिएकी छन् ।

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु’, आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय भएको भन्दै राष्ट्रपतिले भनेकी छन्, ‘हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता