Logo

मिरुनाको आमालाई मेरो सन्देश : प्रकाश सायमी (लेख )



काठमाण्डौं,जेठ २१ | कबड्डी -४ कि नायिका मिरुना मगर को घटनाको बिषय अझै सेलाएको छैन । सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी भई रहेका छन् । यसै सन्दर्भमा बरिष्ठ लेखक तथा संगीत प्रवर्तक प्रकाश सायमी ले पनि मिरुना को आमा लाई एक सन्देश पत्र लेखेका छन । उनले आफ्नो सामाजिक संजालमार्फत अभिब्यक्त गरेका संदेशको पूर्ण पाठ –  मिरुनाको आमालाई मेरो सन्देश ।

प्रिय शिष्या शशि !
तिमीलाई अभिवादन अनि बधाई ।
मिरुना जस्तो साहसी छोरी जन्माएकोमा । जन्माउनु कुन ठूलो कुरा हो र , हुर्काउनु अर्को महान कार्य हो । तिमीले कस्तो सत्सँग, सद्गुण दियौ त्यो नै ठूलो कुरा हो
शशि , हामी यस्तो समाजमा छौँ । विशेषतः महिला यस्तो समाजमा हुर्किन्छिन् जहाँ आफूलाई शोषण भएको कुरा बोल्यो भनें पोथी बास्यो भन्छन् । हाम्रा कैयन् नेताका घरमा तिनका बुहारी , छोरीहरुको कति शोषणमा छन् भन्ने कुरा इतिहासले हामीलाई छर्लँग देखाइ सक्यो । तिम्री छोरीले जुन साहस गरिन् , त्यो विवादमा उपल्लो विषय होइन तर अभिव्यक्तिको एउटा स्वतन्त्र शैली हो कसैलाई मनपर्छ कसैलाई मनपर्दैन । सामाजिक टिक टक बनाउने र चर्चा कमाउनेले त्यसमा रंगीविरंगी टिप्पणी गरिरहन्छन् । सावधान हुन जरुरी छ , उत्तेजित हुन जरुरी छैन ।
हाम्रा सिनेअभिनेत्री वा रंग अभिनेतत्रीहरुले यस्तो कुरामा समयमै विरोध वा असहमति जनाउन सकेको भए डिप्रेशन वा आत्महत्याको रेट बढ्ने थिएन । बलिऊडमै यस्तो घटनाबाट कँगना रनौट, दीपिका पाडुकोण , नीलम कोठारी , अमिशा पटेल किन अभिघातमा परे , किन डिप्रेशनमा परे ? आठ वा छः वर्ष अगि आफूलाई शोषण भएको कुरामा बोल्न नसकेर वा आफूले त्यो पीडा चरम रुपमा सहेर पीडित भएका हुन् ।

नेल सिमनको दी अड कपल भन्ने नाटक हेर्यौ भनें त्यहाँ एउट दृश्य छ जहाँ के भनिएको छ भने आफूमा दमन भयो , आफूलाई आक्रोश उठ्यो भने केही नसके एउटा गिलास भए पनि फुटाउनु त्यसले आफूभित्रको कुन्ठा रिलीज गर्छ । मिरुनाले त्यही गरी जुन एउटा बाँच्न चाहने जीवित प्राणीले गरी , त्यस्तो भीडमा पनि उनले किन आफूलाई असुरक्षित महशुश गरी त ? हाम्रो समाजले यो विकृति सहन सक्ने शक्ति न पुरुषलाई दिएको छ न नारीलाई ।

हामी कहाँ चलचित्रमा काम गर्ने कति अभिनेत्री सुरक्षित छन् ? राजनीतिमा महिलाको अवस्था कस्तो छ ? प्रहरी प्रशासन भित्र कस्तो दुर्दनिय अवस्था छ । हामीले सुन्दै वा बुझ्दै आएका छौँ । अरु त छोडौँ , यी महिला अधिकारवादी महिलाहरु नै आफू घरमा कति र कस्तो शोषण सहेर बसेका छन् , तिनीहरु बोल्दैनन् मात्र । सहेर बस्छन् , किन सहन्छन् त ? सबैलाई , नाम , दाम र सफलताको लोभ छ ।

मिरुनाले सिल्भर स्क्रिनमा हुनु र नहुनुको लोभ त्यागेर एक पाइला के उठाएकी थिई, हाम्रो समाजले जातको , पहिचानको नारा दिएर आवाज उठाइहाल्यो ।
जातिय पहिचान र वर्गीय हक हितको कुरा नगरौँ , शशि । यस्तो विषयमा कुरा हुँदा यहाँ विसे नगर्चीको कुरा गर्ने कति मैदानमा आए , छुवाछुतका कुरा गर्नेले कति इन्चमा विवेकशीलता अनि सहनशीलताको कुरा गरे ।

तर शशि तिम्रो जीत यसैमा छ, छोरीले आवाज उठाई । यो आवाज सत्यको निकै नजीक पुगेको छ कुनै दिन उचित सुनिएला त्यो दिन हामीले सही निर्णय सुन्नेछौँ ।
मिरुना माथि एउटा कलाकार हुनुको कारणले विभिन्न जातिय संगठन वा वर्ग विशेषले निम्न कोटिका टिप्पणी गरिरहेका छन् । कलाकारको पनि जग्गा बेच्नेको जस्तै शक्ति वा संगठन भएको भए , वा कलाकार पनि कुनै राजनीतिक पार्टी जस्तै झन्डा बोकेर सिंहदरवार अगाडि उठ्न सक्ने भएको भए हामीलाई नवदुर्गा भनेर सम्मनित भएका महिला वा सम्मनित गर्ने संस्थाले के बोल्ला वा के बोल्नु पर्छ भनेर एनजीओले सिकाइरहनु पर्दैन थियो ।

मिरुनाले हलमा जुन हिंसाको विरोध गरिन् , त्यो भन्दा ठूलो हिँसा अहिले सामाजिक सञ्जालमा व्यापक बढिरहेको छ । यो हिँसाले एउटी निर्दोष वा अबोध युवती माथि के पर्छ भनेर ती चिच्याउने , भड्काउने अनि बहकाउनेहरुले कहिले बुझ्ने ? मिलापत्र भइसकेपछि फेरि द्धन्द्ध बढाउने उद्देश्यले भइरहेको यो काम र कारवाही समाजलाई कतातिर उन्मुख गरेको छ , प्रहरी प्रशासनले वा साइबर क्राइमको यो कुन लेबलको प्रक्रियामा ध्यान दिन जरुरी छ । न्याय नजीक छ तर न्याय पाउन हामीले अर्को सपना मल्ल प्रधान वा बन्दना राणा जन्मियोस् भनेर पर्खिन नपरोस् ।
मेरो यही कामना छ ।
धन्यवाद् शशि अनि आशिष छ , नवयुगको नयाँ आवाज कलाकार मिरुनालाई !!
शुभकांक्षासहित ,
तिम्रो गुरु ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता