बालेन र सुनिताले भोलि सोमबार सपथ लिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ।
कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।
मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। कामपाका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
बालेन काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन) र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मत गणनामा अनुसार स्वतन्त्र उम्मेदवार साह कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै देशको राजधानी शहर काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् ।
साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका छन् ।