Logo

पल शाह प्रकरण  :उच्च अदालत पोखराले दियो यस्तो आदेश



 

 

काठमाडौं । पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई धरौटीमा छाड्ने दुवै थुनेछक आदेशलाई सँगै राखेर पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

धरौटीमा छाड्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यलय तनहुँले पनि निवेदन दिएको पाइएपछि न्यायाधीशद्धय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

यसअघि उच्च अदालतले पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न आदेश दिएको थियो । दुवै मुद्दामा पीडक र पीडित पनि समान व्यक्ति भएको र कसुरको प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश दिइएको थियो ।

नबालिग गायिकामाथि पटक पटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सकिएको छ । विपक्षी पल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

पीडित एकै भए पनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ । दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए ।

नाबालिग गायिकाका बुबाले गत फागुनको फरकफरक मितिमा छोरीमाथि पलले बिहेको प्रलोभन देखाउँदै पटक पटक करणी गरेको दुवै जिल्लाको प्रहरी कार्यलयमा जाहेरी दिएका थिए ।

पलले अन्तिम पटक करणी गरेको घटनास्थल गत वैशाख १४ गते तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा भएको भन्दै पीडित परिवार सुरुमा जाहेरी लिएर तनहुँ प्रहरीमा पुगेको थियो ।

पीडित र पीडितका बुबाले फेरे बयान
यो मुद्दाकी नाबालिग पीडित र पीडितका बुबा दुवैले अदालतमा बकपत्र गर्ने क्रममा बयान नै फेरेका छन् । पलले बिहे गर्ने आश्वासन दिएपछि पीडितले ‘होस्टाइल’ भएर बयान फेरेको उनीहरुका कानुन व्यवसायीको आशंका छ ।

दुवै अदालतमा बकपत्र गर्ने क्रममा पीडितले आफूलाई पलले जबर्जस्ती करणी नगरेको र अरुको उक्साहटमा जाहेरी दिएको व्यहोराको बयान दिएकी छिन् । पीडितका बुबाले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नभएको रैछ’ आशयको बकपत्र गर्दै आफ्नो बयान फेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता