खुल्यो अष्ट्रेलियाको सिमा, अब यस्ता सर्त पुरा गरे अष्ट्रेलिया जान पाइने

काठमाडौ । कोभिडका कारण बन्द गरेको सिमा अष्ट्रेलियाले खोलेको छ । अब विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदार अष्ट्रेलिया जान पाउने भएका छन् । नेपाल फर्कन नपाएका नेपालीहरु पनि अब आउन पाउने भएका छन् । बुधवार देखि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ ।
प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् । अष्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको जनाइएको छ ।
यसअघि त्यहाँको संघीय सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलन थालेसँगै डिसेम्बर १ देखि १५ सम्म लगाइएको सीमा बन्दलाई थप विस्तार गर्न सकिनेबारे बताएको थियो ।
अष्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पीसीआरको नेगेटिभ रिपोर्टलाई अनिवार्य गरिएको छ ।