विराटनगर विमानस्थल डुबानमा, हवाइ उडान बन्द

काठमाडौँ – विराटनगर विमानस्थल दुइ वटा खोलाको पानी पसेपछि डुबानमा परेको छ । जसका कारण विमानस्थल बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
विमानस्थलभित्र सबै स्थान जलमग्न भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताउनुभयो । विमानस्थल नजिकैका केरलिया र बास्ता खोलाको पानी भित्र पसेको हो । विराटनगरमा दैनिक ४२ उडान हुँदै आएको छ ।
‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले कान्तिपुरसँग भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।