Logo

सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् – अर्थमन्त्री शर्मा



काठमाडौं, असोज २१ । सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्र निर्माण सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ । त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ । सरकारले लगानी गर्दैन, व्यवस्थापन गर्छ । संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो । संविधानमा व्यवस्था गरिएको कुराहरू अहिले लागू गर्न कठिन भइरहेको छ ।
समग्रमा समुदायलाई उत्पादनसँग जोड्नुपर्छ । समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ । सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो । समुदायले नै सबैलाई नेतृत्व गरिरहेको हुन्छ । यसरी हामी जान सक्यो भने छोटो समयमा समृद्ध हासिल गर्न सकिन्छ ।
हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् । सरकारका कार्यक्रमहरूलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् । यसरी सरकार र सहकारीको तालमेल मिलाउँदै गयौँ भने रोजगारीको संकट समाधान हुन्छ ।

सहकारी प्राचीन संस्कृतिकै रूप हो नेपालको विकासक्रमलाई हेर्ने हो भने सामुदायिक रूपमा रहेको देखिन्छ । मुलुकका ठूलाठूला भवनहरू, दरबारहरू समुदायले सहकार्यमार्फत् निर्माण गरेको हामी बुझ्छौँ । त्यो बेला जोसुकैले बनाउन निर्देश गरेको भएपनि ठूला निर्माणहरू समुदाय स्तरबाटै भएको देखिन्छ ।

अहिले समुदाय केन्द्रित भएर समग्र राष्ट्रको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । हिजो जसरी सहकार्य मार्फत् सामुदायिक स्तरबाट ठूला निर्माण भएका थिए, त्यसरी नै आज सहकारी मार्फत् ठूला योजनाहरू गर्न सक्छौँ । हिजोको प्राचीन अभ्यास संगठनका रूपमा आज सहकारी रहेको छ । सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् । सहकारीमा सबै क्षेत्र, जाति, लिङ्ग, वर्गको सहभागिता रहेको छ । यहाँ कुनै जाति, वर्ग भनेर भेदभाव छैन । सद्भाव छ । यो संस्कृतिलाई कायम गरेर अब समुदाय केन्द्रित रहेको देश विकासमा लाग्नुपर्छ ।
सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ सहकारीहरूले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्यांकबाट देखिएको छ । त्यो लगानी अब उत्पादनमुलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्छ । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुन्छ । यसले हाम्रो परनिर्भरता घट्छ ।

सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने सहकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको छ । यो सहकारीहरूले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा व्यवस्था गरिएको हो । अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउँछन् । यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ । यसका लागि कार्यविधि तयार भइरहेको छ । यसबाट अरबौँ पैसा उत्पादन क्षेत्रमा लगानी हुनेछ । यसले हाम्रो आर्थिक क्षेत्रमा धेरै ठुलो परिणाम ल्याउनेछ । सरकारको पूँजीगत खर्चको थोरै हिस्सा मात्र लगानी भइरहेको अवस्थामा यो व्यवस्था राष्ट्रिय अर्थतन्त्र निर्माणमा एक खम्बाको रूपमा रहनेछ ।

विकेन्द्रित पूँजीलाई केन्द्रित गर्नुपर्छ हरेक व्यक्तिको खल्तीमा धेरै÷थोरै पैसा छ । त्यो निकै ठूलो छ । खरबौँ छ । त्यो विकेन्द्रिकृत पूँजीलाई केन्द्रिकृत गरी लगानी लगर्ने वातावरण निर्माण गरौँ । खासगरी उत्पादनमूलक क्षेत्रमा त्यो पैसा लगानी गरौँ । त्यसमा सहकारीहरू अग्रपंक्तिमा हुनेछन् । ठूला वाणिज्य बैंकहरूले पनि ठूला कुरा गरिरहेका छन् । तर उनीहरू र जनताबीचको दूरी टाढा छ । उनीहरूको प्रत्यक्ष संवाद तथा पहुँच हुन सक्दैन । कम छ । त्यसैले वाणिज्य बैंकबाट सेवा सुविधा लिने कुरा आम जनताका लागि गाह्रो विषय छ । तर सहकारी आफ्नै पूँजी, आफैँ परिचालन गरेर, आफैँ उत्पादन गरेर आफैँ समृद्ध हुने नीति छ । यसमा सहकारीसँगै लघुवित्तको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

हामीलाई रोजगारी चाहिएको छ । हामीलाई स्वरोजगार चाहिएको छ । यसमा सहकारीले महत्वपूर्ण भूमिका खेल्छ । सहकारीले रोजगारी सिर्जना गर्छ, यसले स्वरोजगार बनाउँछ । त्यसैले नेपाल सरकारले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा स्वीकार गर्नुको कारण पनि त्यही हो । यो खम्बा जति बलियो हुन्छ, त्यति मुलुक आर्थिक रूपमा बलियो हुन्छ । यसर्थ यो खम्बा अरूभन्दा बलियो हुन जरुरी छ ।

सहकारीको नियमनकारी निकाय आवश्यक अहिले कतिपय सहकारीले अरबौँ पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेका छन् । गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ । तर त्यस्तो गलत क्रियाकलापलाई निमन गर्ने निकाय खासगरी यहाँ रहेनछ ।

यहाँ सहकारी विभाग त छ, तर ठ्याक्कै यसलाई नियमन गर्ने विशिष्ट निकाय छैन । राष्ट्र बैंकलाई पनि मैले सोधेँ, यो क्षेत्र उसको क्षेत्रभित्र पर्दैन भन्ने जवाफ आयो । त्यसो भए नियमन कसले गर्ने हो त ?, संस्था छैन । त्यसैले सहकारीलाई नियमन गर्ने संस्थाको आवश्यकता देखिएको छ । जुन संस्थाले सहकारीभित्रका विकृतिलाई नियन्त्रण गर्न सकोस् । यो अहिले छलफलको क्रममा रहेको छ ।

आर्थिक विकास भएर मात्र हुँदैन समाज परिवर्तनका लागि आर्थिक विकास भएर मात्र हुँदैन । सामाजिक सांस्कृति रूपान्तरण पनि हुनुपर्छ । सामाजिक सांस्कृति रूपान्तरण भएन भने समाजमा अनेक किसिमका समस्याहरू उत्पन्न हुन्छन् । यी दुवै कुरालाई सँगसँगै लैजानुपर्छ । एकातिर सामाजिक सम्बन्ध मजबुत र सौहार्द हुन्छ । त्यहाँ सद्भाव हुन्छ । अनि संस्कृति पनि राम्रो बन्दै जान्छ । अनि अर्कोतिर हाम्रो आर्थिक रूपले हाम्रो जीवनस्तर पनि माथि उठ्दै जान्छ । यो सामूहिक सहकार्यमा मात्रै सम्भव छ । त्यसैले यसमा हामी सबै लागौँ ।
(अर्थमन्त्री जनार्दन शर्माले बिहीबार राजधानीस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव तथा साधारण सभालाई गर्नुभएको सम्बोधनको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता