एनआरएनए को अध्यक्षका लागि डा. बद्री केसीको उम्मेदवारी घोषणा

काठमाण्डौ,असोज १९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगाउने बताएका छन् । ‘यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएका छु त्यसै अनुभव लाई आत्मसाथ गरी बिदेशमा रहेका ७० लाख नेपालीहरु को हक हितका लागी सदैव अग्रसर रहने छु । केसीले भने ।
आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ । नेतृत्व चुन्नका लागि विश्वभर रहेका संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट एकैसाथ भोट गर्नेछन् ।
केसी संघको दुई कार्यकाल महासचिव, एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । कोरोना महामारीमा गैरआवासीय नेपाली संघले दुई लाख भन्दा बढी नेपालीलाई सहयोग र उद्धार गरेको उनले बताए ।
वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने अध्यक्षका उम्मेदवार डा. केसीले बताएका छन् ।