Logo

काठमाण्डौमा भेटिए सयौं पाकेटमार, प्रहरीले गर्‍यो यसरी सार्वजनिक



काठमाण्डौ । काठमाडौंमा दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । दशैं – तिहारमा घर फर्किनेहरूको पाकेट मार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको एसएसपी सिंहले बताए । प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा अपरेसन गरेको हो । प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको सिंहले बताए ।

‘जाहेरी आउने क्रममा जारी रहेको हुँदा उनीहरू माथि अहिले अभद्र व्यवहारमा मुद्दा चलाएका छौं,’ उनले भने । ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । सामान्य धरौटी पनि नतिरी उनीहरू आफैं जेल गएको प्रहरीले जनाएको छ । प्रहरीले फेरि पक्राउ गर्न सक्ने भन्दै उनीहरू जेल गएको सिंहले बताए ।

प्राय: उनीहरूले सार्वजनिक बसमा पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू दुई-दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे । भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गर्थे । पहिचान भएपछि उनीहरूले पैसा भएका व्यक्तिलाई घेराबन्दी गरेर ठेलमठेल गरेर चोर्थे।उनीहरूले त्यसक्रममा ‘कोड वर्ड’ प्रयोग गर्थे । पीडितलाई उनीहरूले ‘रामे’ भन्थे ।

पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्दै सांकेतिक भाषा प्रयोग गर्थे । त्यसैगरी केटालाई छापा, केटीलाई भद्री, पुलिस आए ठूल्दाइ आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई भने उनीहरूले टप्की भन्ने गरेको खुलेको छ ।

अगाडि जा लाई अकल जा र पछाडि जा भन्नलाई चिछल जा भनेर ‘कोड वर्ड’ प्रयोग गर्थे । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता