Logo

ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान, अब सरस्वतीको खेल मात्र बाँकी



 

काठमाडौ । नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्।

यसअघि उनले ५० मिटरको स्विमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि १८औँ फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा १ मिनेट ६२ मिलिसेकन्डको कीर्तिमान कायम गरेकी थिइन्। सोही कीर्तिमान गौरिकाले यसपल्ट भंग गरेकी हुन्। गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् ।

गौरिकाले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी छिन् । गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००।६२ सेकेण्डको समय निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८।१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९।७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००।०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् ।

लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेकी थिइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता