Logo

आसिफ र सोमपालको उत्कृष्ट प्रदर्शन,नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य



काठमाण्डौं,भदौ १८ । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । नेपालका आशिफ शेखले अर्धशतक बनाए भने सोमपाल कामी मात्र २ रनले अर्धशतक बनाउनबाट चुके ।

श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा टस जितेको भारतका कप्तान रोहित शर्माले बलिङ रोजे । नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे ।

भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । विश्वस्तरका भारतीय बलरहरु मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा दुई छक्का र तीन चौका प्रहार गरेका भुर्तेललाई दशौं ओभरको पाँचौं बलमा शार्दुल ठाकुरले आउट गरे ।

नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो । पहिलो ओभरको अन्तिम बलमै भुर्तेललाई आउट गर्ने राम्रो अवसर मोहम्मद सामीले सिर्जना गरेका थिए । तर स्लिपमा श्रेयस ऐयरले ड्रप गरे ।

लगत्तै दोस्रो ओभरको पहिलो बलमै मोहम्मद सिराजले नेपालका अर्का ओपनर आसिफलाई क्याच आउट गर्ने अवसर सिर्जना गरेका थिए । फेरि क्याच ड्रप भयो । विराट कोहलीले सजिलो बल समात्न सकेनन् ।

पाँचौं ओभरको दोस्रो बलमा सामीले भुर्तेललाई आउट अर्को अवसर सिर्जना गरे । तर विकेट किपर इसान किसानले ड्रप गर्दा बल बाउण्ड्री पुग्यो ।

अर्को रोचक त आठौं ओभरको पहिलो बलमा अम्पायरले भुर्तेललाई एलबीडब्लू आउट दिएका थिए । तर नेपालले रिभ्यू लियो र थर्ड अम्पायरले विकेटको निर्णय सच्याए । भारतको एकपछि अर्को कमजोर फिल्डिङको रिभ्यूको सही निर्णयको बलमा नेपालले पहिलो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्‍यो ।

यदि यो साझेदारी नभएको भए परिस्थिति पाकिस्तानसँग भएको खेलभन्दा धेरै फरक नहुन सक्थ्यो । किनकी यो साझेदारी टुटेपनि नेपालले लगातार विकेट गुमायो । आसिफले एउटा इण्ड सम्हाले पनि अर्कोतिर विकेट गइरह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१/४ थियो । त्यसपछि भने नेपालले केही सम्हालियो ।

छैटौं नम्बरमा आएका गुल्सन झाले आसिफसँग ३१ रनको साझेदारी गरे । ८८ बलमा अर्धशतक बनाएका आसिफ ३० औं ओभरको पाँचौं बलमा आउट भए । उनले सर्वाधिक ५८ रन बनााए । थप १२ रन जोड्दा झा पनि व्यक्तिगत २३ रनमा आउट भए ।

तर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पारी नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । ४२औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४/७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला सर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७.२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले एक चौका र दुई छक्को मद्दतमा ४८ रन बनाए ।

त्यसबेलासम्म पनि नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर थियो । सन्दीप लामिछाने रन आउट भए भने ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो ।

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता