Logo

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा



काठमाडौं, बैशाख १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन स्थानिय तह, जिल्ला र प्रदेश छनोट प्रतियोगिता आयोजना गरिएको थियो । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।

एथलेटिक्सतर्फ छात्र÷छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र÷छात्रामा समान १–१, करातेतर्फ छात्र÷छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र÷छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल र तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिने छ । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ रहेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । मार्च पास्टमा शीर्ष तीन स्थान हात पार्नेलाई पनि छुट्टै नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसादले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता