Logo

राष्ट्रिय बुद्धिचालः रुपेश र सुजनाको जित निरन्तर



काठमाडौं, बैशाख ८ । राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आआफ्नो जितयात्रालाई छैटौं चरणसम्म पुर्याउँदा एकल अग्रतालाई कायम राखेका छन् ।

प्रतियोगिताको चौथो दिन शुक्रबार पाँचौं र छैटौं चरणको खेलमा रुपेशले लगातार जित निकाले । रुपेशले पाँचौं चरणमा राजन पुरीलाई हराउँदा छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे ।

१४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल ५ अंकसहित रुपेशलाई पछ्याइरहेका छन् । विहीबार चौथो चरणमा रुपेशसँग पराजित भएका पुरुषोत्तमले शुक्रबार पाँचौं चरणमा साविक विजेता पुरुषोत्तम चौलागाईंलाई ४१औं चालमा जित हासिल गरे । छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई ४६औं चालमा निराश पारे ।

फिडेमास्टर क्षितिज भण्डारी साढे ४ अंकसहित तेस्रो स्थानमा छन् । पाँचौं चरणमा राजन सुवेदीसँग बराबरी खेलेका क्षितिजले छैटौं चरणमा राजीव कार्कीमाथि जित हासिल गरे । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी प्रतियोगितामा राजन सुवेदी चार अंकसहित चौथो स्थानमा छन् ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स एण्ड ट्राभल्सको सह प्रायोजनमा भइरहेको प्रतियोगिताको महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनीले शतप्रतिशत जितयात्रालाई कायम राख्दै शीर्ष स्थानमा १.५ अंकको अग्रता बनाइन् । पाँचौं चरणमा उनले विनिता कपालीलाई पराजित गरिन् भने छैटौं चरणमा पुनम प्रसाईंलाई हराइन् ।

सुशीला गुरुङ साढे ४ अंकसहित दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा रहेकी शान्ती धिमालले ४ अंक जोडेकी छन् । सुशीलाले पाँचौं चरणमा पूजा भण्डारीलाई हराउँदा छैटौं चरणमा रिया श्रेष्ठसँग बराबरी खेलिन् । शान्तिले पाँचौं चरणमा रियालाई पराजित गरेकी थिइन् । छैटौं चरणमा विनिता कपालीलाई हराइन् ।

लाजिम्पाटस्थित होटल ले हिमालयमा भइरहेको प्रतियोगितामा शनिबार सातौं र आठौं चरणका खेलहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता