Logo

महिला क्रिकेट श्रृङखला अन्तर्गत पहिलो टी– २० खेलमा हङकङको जित



काठमाडौं, पुस १३ । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखला अन्तर्गत पहिलो टी– २० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । बागमती प्रदेशले जवाफमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । बागमतीका लागि विन्दा कट्वाल र खुशी डङगोलले सबभन्दा बढी १८–१८ रन बनाए । यसैगरी मेलिसा गुरुङले १७, सलिना सिलवालले १५ र अस्मिता खरेलले १५ रनको योगदान दिए । हङकङकी इमान चाइले दुई तथा कारेन पुमले एक विकेट लिए । घरेलु टिमका पाँच ब्याटर रनआउट भएका थिए ।

यसअघि, हङकङको पालिमा लेमन छुङ्गेले ३१ बलमा छ चौकासहित सर्वाधिक ४० रन बनाएर आउट भइन् । लेमन नै सर्वश्रेष्ठ खेलाडी घोषित भइन् । यसैगरी बेटी चानले २७ बलमा चार चौकासहित ३३ रनको उपयोगी पाली खेलिन् । प्रारम्भिक ब्याटरद्वय इमा चाइले १५ र केरी चानले २६ रनको योगदान गरे । सो पालीमा बागमतीकी सोनी पाख्रिन र मेलिसाले दुई–दुई तथा अस्मिना कर्माचार्य र खुशीले एक–एक विकेट हात पारे ।

यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृंखलामा हङकङले अग्रता बनाएको छ । दोस्रो खेल बिहिबार हुनेछ । यसअघि बागमतीले ४० ओभरको दुई खेलको २–० ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता