हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने

काठमाण्डौं,मङ्सिर २९ । राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ ।
सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा ३ महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ ।
पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको पौडी पोखरी प्रमुख देवराज कट्वालले जनाएका छन् ।