Logo

रग्बीमा सेमिफाइनल समीकरण पूरा



काठमाण्डौं,मङ्सिर २४ । यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया ७ अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे । सेमिफाइनलमा भारतको भेट युएइसंग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।
समूह ‘ए’ मा रहेको नेपालले भारतसंगै समान ५ अंक जोडेपनि स्कोरअन्तरका आधारमा पछि प¥यो । नेपालले भारतलाई १२–१० पराजित गरेको थियो । नेपाल थाइल्यान्डसंग १५–७ तथा मलेसियासंग ३४–० ले पछि प¥यो । पुरुषमा ८ टिम सहभागी छन् ।
नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्ने छन् । प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बंगलादेश विरुद्ध खेल्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३–३ खेल खेल्दै समान ७–७ अंक जोडेका छन् । ५ टिम सहभागी राउन्ड रोविनमा दुवैको १–१ खेल बाँकी छ ।
समान २–२ खेल खेलेका युएइ, नेपाल र मलेसियाको क्रमशः ६ अंक, २ अंक र २ अंक रहेको छ । नेपाल थाइल्यान्डसंग ३९–० र युएइसंग ४१–० ले पराजित भयो ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा दाहालले अन्तर्राष्ट्रिय प्रतियोगिताले राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउदै राष्ट्रको अर्थतन्त्र बृद्धिमा पनि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालमा रग्बीको विकास र विस्तारका लागि सरकारले पूर्वाधार निर्माण तथा अन्य तयारी सुरु गरेको जानकारी गराए ।
एसिया रग्बीका अध्यक्ष कायस अल धलाइले छोटो समयको प्रस्तावमा पनि नेपालले प्रतियोगिता आयोजना गर्न तत्परता देखाएकोमा नेपाल रग्बी संघलाई धन्यवाद दिदै खुशी व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता भएको पहिलो अवसर हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता