Logo

नेपालको समृद्धिका लागि भारत सहयोग गर्न तयार छ : राजदूत डा. शर्मा



काठमाडौं, १७ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुने दाबी गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूको सद्भावना तर औपचारिक भ्रमण हो । यसमा नेपाल र भारतबीच विकास निर्माण र आर्थिक समृद्धिका एजेन्डा छन् । यस क्रममा हुने थुप्रै सम्झौताबाट नेपाललाई दीर्घकालीन लाभ मिल्ने भएकाले यसबाट प्रतिव्यक्ति आयमा वृद्धिमा हुन्छ । त्यसकारण पनि भ्रमण सफल बनाउनुपर्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलाले नयाँ दिल्लीमा गरेको संवादमा उनले भने ।

डा. शर्माले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतसँगको ऊर्जा व्यापार सम्झौताबाट व्यापार घाटा घट्ने पनि बताए । उनले भने, ‘रेमिट्यान्सका कारण हाम्रो आयात धेरै बढेको छ तर निर्यात सीमित भएकाले व्यापार घाटा छ । त्यसलाई ऊर्जा व्यापार सम्झौताले सहयोग गर्छ । नेपालले पोहोर अप्रिलदेखि भारतमा विद्युत् निर्यात सुरु गरेको छ । अब बंगलादेश पठाउन पनि बाटो भारतकै चाहिन्छ । श्रीलंका र म्यानमारले पनि खरिद गर्न चाहेका छन् । नेपालको व्यापार घाटा घटाउने सशक्त माध्यम यही हुन्छ ।
चीनको लगानी र चिनियाँ ठेकेदारले काम गरेका जलविद्युत् आयोजनाको बिजुली भारतले नकिन्ने कुरा आएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, ‘यसबारे पूर्वप्रधानमन्त्रीज्यू (केपी शर्मा ओली) ले भनिसक्नुभएको छ । कुनै उत्पादन संस्थाको बिजुली किन्ने वा नकिन्ने कुरामा हामीले कसैलाई जबर्जस्ती गर्न सक्दैनौं । भारतको आफ्नै गाइड लाइन होला । त्यसलाई पनि हामीले मनन गर्नुपर्ने अवस्था हुन सक्छ । गाइड लाइन अनुसार जाने हो कि त्यसलाई चेन्ज गर्ने हो कि के गर्ने ? त्यो हाम्रो कुरा हो ।’

राजदूत डा. शर्माले धार्मिक पर्यटनबाट पनि व्यापार घाटा कम हुने औंल्याए । उनले भने, ‘पर्यटनबाट पनि व्यापार घाटा घट्छ । रामायण सर्किट, बुद्धिस्ट सर्किट, मानस खण्डका कुरा छन् । तर नेपालमा भारु सयको नोट चल्छ, पाँच सय चल्दैन । त्यसले मजदुर र धार्मिक पर्यटक समस्यामा छन् । फोन पेमा क्युआर कोडमा लैजाने भयो भने सजिलो हुन्छ । यसपटकको भ्रमणमा व्यापार र कनेक्टिभिटी, एकीकृत चेकपोस्ट, विराटनगर, जनकपुर र काठमाडौंसम्म रेलका कुरा हुन सक्ने उनले बताए ।

भैरहवा र पोखरा एयरपोर्टमा हवाई रुटका विषय पनि प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्न सक्ने उनले औंल्याए । डा‍. शर्माले भने, ‘यसबारे २०१८ पछि लामो समय बैठक भएनन् । बल्ल २०२३ मेमा आएर बैठक भएको छ । यसमा कूटनीतिक मात्र नभएर प्राविधिक कुरा पनि छन् । यसबाट केही न केही त होला । हेर्दै जाऊँ न ।’
राजदूत डा. शर्माले यस भ्रमणबाट नेपाल-भारत सम्बन्धमा ‘ब्रेक थ्रु’ हुने विश्वास पनि व्यक्त गरे । उनले थपे, ‘राजनीतिक लेबलको आफ्नै संयन्त्र हुन्छ । अहिले प्रधानमन्त्री आइपुग्नुभएको छैन, भारत भ्रमणको एजेन्डा पनि आइपगेको छैन । हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हाम्रा प्रधानमन्त्रीबीच वन टु वन र बाइल्याटरल मिटिङ हुन्छन् । अहिले हाम्रा तयारी जुन गतिले अघि बढिरहेको छ, त्यसले राम्रो प्रगति हुने देखाउँछ ।’

साथै डा. शर्माले नेपाल र भारतबीच विश्वासका संकट नरहेको दाबी गरे । उनले भने, ‘छिमेकी देशबीच सयौं समस्या हुन्छन् । तर विश्वासको वातावरण नभएको भए यति धेरै सम्झौताको तयारी हुने थिएनन् । भारतले नेपालको समृद्धिका लागि सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता