Logo

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन



काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको कामना व्यक्त गरे । उनले आफू प्रधानमन्त्री भएको दोस्रो कार्यकालमा भलिबल खेललाई राष्ट्रिय खेलकुदका रुपमा घोषणा गरेको स्मरणसमेत गरे ।

‘भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गर्ने मौका मैले नै प्राप्त गरेको थिएँ, आज ६ वर्षपछि आफ्नो तेस्रो कार्यकालमा फेरि महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्न पाउँदा धेरै खुसी र गर्व महसुस गरेको छु,’– उनले भने ।

प्रधानमन्त्री दाहालले आयोजक टोलीलाई बधाई दिँदै सहभागी राष्ट्रको नेपाल बसाइ सुखद र सफल रहोस् भन्ने शुभकामनासमेत प्रदान गरे ।

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान गरी आठ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । उक्त प्रतियोगिता यही जेठ १४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता