Logo

माघे संक्रान्तिको दिन बिहानै भयानक जीप दुर्घटना : नौ महिने शिशुसहित ६ जनाको मृत्यु, ८ गम्भीर घाइते



 

तनहुँ । माघे संक्रान्तिको दिन बिहानै भयानक जीप दुर्घटना भएको छ । तनहुँको बन्दिपुर–६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ ।

ग १ ज ६५५५ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ सडकबाट करिब दुई सय मिटर खस्दा एउटै गाउँका बालिकासहित चारजनाको घटनास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ ।

बन्दिपुर–६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापासहित सोही ठाउका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया शुसिलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस्तै, दुर्घटनामा परी घाइते भएका ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । जीपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको अध्यक्ष थापाले बताउनुभयो ।

प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय उद्धारमा खाटिएका थिए । दुर्घटना के कसरी भएको हो भन्ने विषयमा अनुसन्धान गर्ने र चालकको खोजी भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता