Logo

एक दुई दिनमा रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारीमा ओली, थप पुनर्गठन तिहारपछि



KP Sharma Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा एक दुई दिनमै मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन्।

पार्टीभित्र सहमति गरी मन्त्रिमण्डलको समग्र पुनर्गठन भने तिहारपछि गरिने भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको पछिल्लो छलफलमा अर्थ, शहरी विकास र सूचना तथा सञ्चार प्रविधि गरी तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने समझदारी बनेको प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले जनाएको छ।

‘रिक्त रहेका अर्थ, सञ्चार र शहरी विकास मन्त्रालयले छिटो मन्त्री पाउने गरी नयाँ खालको सहमति बनेको छ,’ ओलीनिकट स्रोतले भन्यो।

सोहि आधारमा एक दुई दिनमै रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिनेछ।

यसपटक पूर्वमाओवादी केन्द्रबाट एक र पूर्व एमालेबाट दुई जनालाई मन्त्री बनाइनेछ।

अर्थमा महासचिव विष्णु पौडेल लगभग निश्चित जस्तै भएको स्रोतहरुले जनाएका छन्।

यस्तै पुर्वमाओवादीबाट जनार्दन शर्माको नाम पहिलो नम्बरमा राखिएको छ।

आकांक्षी धेरै भएपनि तत्काल एक मात्र मन्त्रालयमा पठाउने भएकोले उनलाई प्राथमिकतामा राखिएको छ।

यदि उनले प्रस्तावित मन्त्रालयमा जान नचाहे अरु संभावित उम्मेदवारबारे प्रचण्डले छलफल गरेर प्रधानमन्त्री ओलीलाई नाम दिनेछन्।

‘प्रधानमन्त्री ओलीले लामो समय अर्थ मन्त्रालय बोकेर राख्नु हुन्न,’ स्रोतले भन्यो, ‘कार्यकारी अध्यक्ष प्रचण्डसँग नियमित भएको छलफलमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेर जाने सहमति जुटेको छ, एकदुई दिनमै सो विषय टुंगो लाग्छ।’

यसपटक पुर्वएमालेबाट दुई र पुर्वमाओवादीबाट एकजना मन्त्री बन्नेछन्।

प्रधानमन्त्री ओलीले यसलाई तत्कालको आवश्यकताअनुसारको पुनर्गठन भन्दै समग्र पुनर्गठन भने तिहारलगत्तै गर्ने कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा पहिले सहमत नभएका प्रचण्ड पछिल्ला दिनका बिभिन्न परिस्थितिलाई मध्यनजर गरी सोहिअनुसार समाधान गर्दै अघि बढ्न तयार भएको स्रोतको भनाइ छ।

केहि दिनयता कोरोना महामारी तिब्ररुपमा बढ्दा परिस्थिति जटिल बन्दै गएको, नेताहरुबीच सघन भेटघाट परामर्श गर्न सहज नभएको, अदालतमा वामदेव गौतमको मुद्दा लम्बिएको आदि कारणले गर्दा तत्काल समग्र पुनगर्ठन गर्न संभव नभएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने विषय पनि अदालतले गौतमको मुद्दामा दिने व्याख्यासँग जोडिएको हुँदा सो विषय टुंगो लाग्न केहि दिन लाग्ने निश्चित छ।

यसअघि तीन मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्डले किस्ता किस्तामा गर्नुको साटो समग्र पुनर्गठन गर्नेमै जोड दिइरहेका थिए।

तर सोमबार प्रधानमन्त्री ओलीले लामो समय मन्त्रालय मन्त्रीविहीन रहेको भन्दै रिक्त मन्त्रालयमा तत्काल नियुक्त गर्नुपर्ने कुरा दोहोर्‍याएका थिए।

प्रचण्डले पार्टीमा छलफल नगरी गरिने मन्त्री नियुक्तिमा आफ्नो सहमति नहुने भनेपछि ओलीले प्रधानमन्त्रीको अधिकारमा हस्तक्षेप नगर्न समेत आग्रह गरेका थिए।

भरखरै पार्टीभित्र देखिएको संकटबाट मुक्त भएका ओलीले आफू निकटका नेताहरुसँग अध्यक्ष प्रचण्डसँग सहमति नजुटी केही नगर्ने बताएका थिए। समझदारी बनाएरै अघि बढ्ने उनको भनाइ थियो।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी नाम राख्ने विषयमा एक ठाउँमा आएपछि दुई अध्यक्षबीच फेरि सहमतिको वातावरण बनेको थियो।

प्रदेश ५ को राजधानी र नामबारे परिपत्र नै गरेका अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा समेत नयाँ सहमति जुटेको बालुवाटार स्रोतले जनायो।

पछिल्ला छलफलपछि रिक्त मन्त्री नियुक्ति तत्काल गर्ने र समग्र पुनर्गठन भने तिहारपछि गर्ने सहमति बनेको स्रोतले जनायो।

‘मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा दुई अध्यक्षले दैनिक कुरा गरिराख्नु भएको छ, रिक्त मन्त्रालय खाली राख्नै भएन भनेर अध्यक्ष प्रचण्डसँग छलफल भयो,’ प्रधानमन्त्रीनिकट उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले लामो समय अर्थ बोकेर हिड्नुहुन्न, कसैलाई जिम्मा लगाउनुहुन्छ, एक दुई दिनभित्रै अन्य खाली मन्त्रालय भर्ने काम हुन्छ।’

स्रोतका अनुसार समग्र पुनर्गठन दसैँ वा तिहारपछि गरिनेछ र त्यसका लागि एउटा मापदण्ड तय गरिनेछ।

‘दुई अध्यक्षबीच सहमतिभन्दा बाहिर गएर केही पनि हुँदैन, सहमतिकै आधारमा हुन्छ, लगभग सहमति जुटिसकेको छ,’ उनले भने।

मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने विषयमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दैनिक छलफलमा छन्।

आफूहरुबीच सहमति नजुटेकै कारण मंगलबार बसेको नेकपाको सचिवालय बैठकमा पनि मन्त्रिमण्डल पुनर्गठन वा रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा दुवै अध्यक्षले त्यसबारे प्रसंग नै उल्लेख गरेनन्।

अर्का नेताका अनुसार एक–दुई दिनयताका गतिबिधि हेर्दा बालुवाटारमा कार्यकारी अध्यक्षसँग नयाँखालको कुनै सहमति बनेको देखिन्छ।

‘प्रचण्डले प्रधानमन्त्री बाहेक सबै मन्त्री फेरेर जाने प्रस्तावमै जोड गरिरहनु थियो। तर, अब नयाँ बनेको सहमति अनुसार तिहारलगत्तै मन्त्री फेरिने र उनीहरुको मापदण्ड पछि नै तय गरिने बुझिएको छ’ ती नेताले भने, ‘त्यसबारे पनि मुख्यतः दुई अध्यक्षले एउटा खाका बनाएपछि त्यसबारे सचिवालयमा पनि छलफल हुनसक्छ।’

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षबीच छलफल तथा बैठकहरु भइ नै रहेको हुँदा प्रधानमन्त्रीले जे गरे पनि आपसी समझदारी मै हुनेछ।

उनले नेताहरुबीच सहमति नै जुट्न नसकेको र सरकारको कामकारवाही समेत प्रभावित भएको भए प्रधानमन्त्री आफ्नो ढंगबाट पनि अघि बढ्नुपर्ने स्थिति हुने तर अहिले त्यस्तो अवस्था नभएको बताए।

‘अहिले त दुई अध्यक्षबीच कुराकानी चलिरहेकै छ त्यसैले समझदारीमै निर्णय हुन्छ,’ उनले भने।

असोज ७ गतेपछि मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकीकरणका बाँकी काम सम्पन्न गर्ने, संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा प्याकेजमा सहमति गर्नको लागि ओली र प्रचण्डबीच नियमित भेट भइरहेको छ।

तर, मन्त्रिमण्डल पुनर्गठनको मोडालिटीबारे दुई नेताबीच कुरा नमिल्दा सो विषय अड्किरहेको थियो।

पछिल्लो पटक बनेको नयाँ सहमतिले मन्त्रिमण्डल पुनर्गठन विषय टुङ्गिनेतर्फ अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता