Logo

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार



अमेरिका,असार ३० । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।

गोली चलाउने व्यक्ति मारिए

बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।

अमेरिकीको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन् ।

चुनावी र्‍यालीमा ट्रम्पले करिब पाँच मिनेट बोलेपछि केही पड्किएको जस्तो आवाज सुनिएको थियो । जब गोली चल्न थाल्यो, भिडमा कोलाहल मच्चियो ।

ट्रम्पलाई केही सेकेण्डसम्म सुरक्षा दस्ताले घेरेर राखे । अनि स्टेजबाट ओराले । स्टेजबाट ओर्लिंदै गर्दा ट्रम्पले हावामा मुठ्ठी उचालेका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले ट्रम्पलाई गाडीमा हालेर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता