Logo

सांसद महेश बस्नेतले दसैंभत्ता रकम भक्तपुर अस्पताललाई दिए



भक्तपुर : क्षेत्र नं २ का संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन्। अस्पतालमा सेवा लिन आउने गरिब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उनले सो रकम दिएका हुन्।

नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र  मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई ६५ हजार रुपैयाँ हस्तान्तरण गर्दै जीवनशैली सरल र पारदर्शी बनाउनु आवश्यक रहेको र चाडपर्व तडकभडक गरेर मनाउनुभन्दा गरिब र असहायलाई सहयोग गर्नुपर्ने धारणा राखे।

अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबैले आआफ्ना क्षेत्रबाट सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले सबै स्थानीय सरकारलाई आफ्ना स्थानीय तहमा अस्पताल निर्माण गर्न आह्वान गरे। सांसद बस्नेतले अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारबारे जानकारी लिँदै अतिसघन कक्ष र कोभिड ब्लकको अनुगमनसमेत गरे।

हाल ६ शय्याको भेन्टिलेटरसहित १५ शय्याको आइसोलेशन  सञ्चालन भइरहँदा कोभिड बिरामीको चाप अत्याधिक बढेपछि आजदेखि थप आठ शय्या थपेर अक्सिजन आवश्यक पर्ने कोभिड बिरामीको उपचार गरिएको अध्यक्ष सुवालले जानकारी दिए।

सरकारले कोभिड बिरामीका उपचारका लागि १०० शय्या थप गर्न एक करोड १० लाख रुपैयाँ बजेट पठाए पनि ठाउँ र भवन अभाव हुँदा समस्या परेको जनाउँदै मेसु डा गौतमले ठाउँका लागि कतै व्यवस्थापन भए सहज हुने बताइन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता