Logo

कपिलवस्तुको चार पालिकामा यस्तो रोग फैलिएपछी भकाभक अस्पताल भर्ना हुन थाले बिरामी



 

रुपन्देही । असोज १८ गते कपिलवस्तु कृष्णनगरबाट फैलिएको झाडापखाला दसैंअघि केही कम भएपनि अहिले अन्य ३ पालिकामा पनि फैलिएको छ । दसैंको १० दिनअघि कपिलवस्तुको कृष्णनगर नगरपालिकामा यसको प्रकोप शुरु भएको एकसातापछि केही कम भएपनि दसैं पछाडि दिनहुँ बिरामी बढ्न थालेका हुन् ।

दसैंअघि कृष्णनगरमा मात्र देखिएको यसको प्रकोप अहिले शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका र विजयनगर गाउँपालिकामा फैलिएको स्थानीय स्वास्थ्यकर्मी विष्णु पौडेलले जानकारी दिए ।

उनले भने, ‘अहिले कृष्णनगरभन्दा शिवराज, महाराजगन्ज र विजयनगरका बिरामी बढी आउन थालेका छन् । दैनिक ४५ देखि ५० जना बिरामी आउन थालेका छन्, स्वास्थ्यकर्मीको समस्या छ, स्वास्थ्य सचेतना छैन, चाडपर्वले झन् बढायो ।’

असोजको १८ गतेदेखि झाडापखालाको प्रकोप फैलिएकोमा त्यो दिन शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको संख्या ३ सय ९८ सम्म पुगेको थियो । त्यसको केही समय, त्यही हाराहारीमा बिरामी उपचारका लागि गएकामा दसैं भन्दा एक(दुई दिन अगाडि १० देखि १५ जनासम्म मात्र पुग्ने गरेका थिए । तर दसैं सकिएलगत्तै फेरि बिरामीको संख्या बढ्न थालेको हो ।

अहिले दैनिक ४० देखि ४५ जनासम्म उपचारका लागि पुग्ने गरेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिए । अहिले त्यस क्षेत्रमा ७ जना डाक्टर र ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् । कृष्णनगर नगरपालिकामा हैजा फैलिएको यस अगाडि नै पुष्टि भइसकेको छ । तर मानिसहरुमा चेतनाको कमीका कारण खानपान र सरसफाइमा ध्यान दिन नसकेकाले फेरि झाडापखालाका बिरामी फैलिएका हुनसक्ने चौधरीले बताए ।

झाडापखालाबाट बच्न पानी उमालेर मात्रै पिउन, पानीको मुहान वरिपरि सफा राख्न, शौचालयमा मात्र दिसा पिसाब गर्न उनले सुझाव दिएका छन् ।

अहिले स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा गएर जनचेतना फैलाउने लगायतको काम गरिरहेको छ । अहिलेसम्म १ हजार ४० जनाको यसको प्रकोपमा परेकोमा ४२ जनालाई थप उपचारका लागि बाहिर पठाइएको, ५० जना स्थानीय अस्पतालमा उपचार गराइरहेको र अन्य उपचारपछि घर फर्किइसकेका छन् ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले मन्त्रालयले यहाँको महामारी थप फैलन नदिन पूर्वतयारी गरेको बताए । उनले आवश्यक जनशक्ति थप गर्नुपरेमा लुम्बिनी प्रादेशिक अस्पतालबाट लैजान आवश्यक निर्देशन दिइसकेको र अन्य पालिकामा थपिएको विषयमा अनुसन्धानलाई अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता