Logo

इन्धन भण्डारण क्षमताः अब मुलुकको दोस्रो ठुलो डिपो पोखरामा



काठमाडौं । अब अमलेखगञ्ज पछिको ठुलो इन्धन डिपो पोखरामा हुने भएको छ । नेपाल आयल निगमले पोखरामा डिपो निर्माणको काम अघि बढाएकाले काम सम्पन्न भएपछि अमलेखगञ्ज पछिको ठुलो इन्धन डिपोका रुपमा रुपान्तरण हुने भएको हो । निगमले पोखरामा इन्धन डिपो अपग्रेडको काम अगाडि बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । ‘डिजाइन स्वीकृत भइसकेको छ । साइटको काम केही दिनभित्रै सुरु हुन्छ’ पौडेलले हाम्राकुरासँग भने, ‘काम सम्पन्न भएपछि निगमको भण्डारणमा अहिलेको क्षमता अनुसार १५ प्रतिशत क्षमता थपिन्छ । अमलेखगञ्ज पछिको अर्को ठुलो डिपो पोखराकै हुन्छ ।’ अहिले नेपाल आयल निगमका विभिन्न १३ ठाउँमा रहेका डिपोहरुमा गरी कुल इन्धन भण्डारण क्षमता ६७ हजार ३ सय ९० किलोलिटर रहेको छ ।

कुन डिपोको क्षमता कति?
निगमका अनुसार सबै भन्दा बढी इन्धन भण्डारण क्षमता भएको डिपो अमलेखगञ्ज डिपो हो । अमलेखगञ्ज डिपोको इन्धन भण्डारण क्षमता २४ हजार १ सय ३० किलोलिटर रहेको छ । जसमा पेट्रोल भण्डारण क्षमता १ हजार ९ सय ३० किलोलिटर, डिजेल भण्डारण क्षमता २० हजार ६ सय किलोलिटर, मट्टितेल भण्डारण क्षमता १ हजार ६ सय किलोलिटर रहेको छ ।
अहिलेसम्म अमेखगञ्ज डिपो पछिको ठुलो डिपोका रुपमा विराटनगर डिपोलाई लिइँदै आएको छ । विराटनगर डिपोमा सबै किसिमका इन्धन गरी कुल ८ हजार ६ सय ८२ किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ ।

काठमाडौंमा थानकोट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका डिपोमा गरी कुल २१ हजार ४ सय ८५ किलोलिटर इन्धन भण्डारण क्षमता रहेको निगमले जानकारी दिएको छ । निगमका अनुसार पोखरामा हाल ३ हजार ४ सय ७८ किलोलिटर क्षमताको इन्धन भण्डारण क्षमता रहेको छ । सोही डिपोलाई अपग्रेड गर्दै १३ हजार किलोलिटर क्षमताको बनाइने निगमका कार्यकारी निर्देशक पौडेलले बताए ।

हाल भैरहवामा ३ हजार ६ सय ६६ किलोलिटर क्षमताको डिपो रहेको छ । नेपालगञ्ज, सुर्खेत, दीपायल, धनगढी, जनकपुर, भद्रपुर लगायतका डिपोमा समेत गरी निगमसँग हाल कुल ६७ हजार ३ सय ९० किलोलिटर क्षमतामा भण्डारण क्षमता रहेको निगमले जानकारी दिएको छ । निगमले पोखरामा निर्माण गर्न लागिएको डिपो दुई वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । डिपो निर्माण गरी क्षमता विस्तार गर्नका लागि ७५ करोड रुपैयाँ लागत लाग्ने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता