निजी क्षेत्रका कुरा जनतामा पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : अध्यक्ष मल्ल
काठमाण्डौं,माघ ६ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका भनाइहरुलाइ जनमानसमा पुर्याउन लगानीकर्ता तथा सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको बताएका छन् ।
इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सम्मानमा चेम्बरद्वारा आयोजित स्वागत कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै बास्केटमा रहेकाले निजी क्षेत्रका भनाइहरुलाइ जनमानसमा पुर्याउन इकोनोमिक मिडिया क्षेत्रसँग सम्बन्धित लगानीकर्ता तथा सञ्चारकर्मीको अहं भूमिका रहेको उनले बताएका हुन् ।
यसैगरी अध्यक्ष मल्लले सरकारले प्रतिबद्धता गरेका कतिपय सुविधाहरु व्यवहारमा उपलब्ध हुन नसकेका र शब्दमा मात्र सीमित रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको समेत बताए । आर्थिक एजेण्डामा निजी क्षेत्र र इकोनोमिक मिडियाको समान दायित्व भएकोले सहकार्य गर्दै अगाडि बढ्नु जरुरी रहेको उनको भनाइ थियो ।
उक्त अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने, आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसँग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतीहरुलाइ सम्प्रेषण गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको बताउँदै संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको तथा इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्षद्वय सोमनाथ बास्तोला र लोचन खतिवडा, महासचिव नारायण पौडेल, सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी, सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।