Logo

एनएससी–काभा महिला भलिबलको ट्रफी सार्वजनिक



काठमाडौं, २५ बैशाख । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरे ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदै छ ।
प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन् ।
सदस्य–सचिव घिसिङले नेपाली टोलीलाई ह्याट्रिक उपाधिका लागि शुभकामना दिदै भने– ‘तपाईंहरुले दुई पटक उपाधि जितेर आफूलाई प्रमाणित गरिसक्नु भएको छ । मलाई विश्वास छ, तपाईंहरुले फेरि उपाधि जितेर ह्याट्रिक गर्दै इतिहास रच्नु हुनेछ । सफलताका लागि कप्तान, खेलाडी, प्रशिक्षक, भलिबल संघका पदाधिकारी सम्पूर्णलाई शुभकामना छ ।’
अध्यक्ष चन्दले प्रतियोगिताका लागि राखेपले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै २०८० को अन्त्यतिर काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने सोच रहेको बताए ।
कार्यक्रममा प्रतियोगिताका लागि ढोरपाटन क्लबले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । क्लबकी वरिष्ठ उपाध्यक्ष छलकुमारी छन्त्यालले भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई १ लाख नगद हस्तान्तरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता