Logo

वाग्मती प्रदेशमा मात्रै ३२ हजार बढी कोरोना संक्रमण मुक्त, अन्य प्रदेशमा कति ? (विवरणसहित)



काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ९४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ९५६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ६९९२ जना

प्रदेश २ मा १५१३३ जना

वाग्मती प्रदेश ३२१२७ जना

गण्डकी प्रदेशमा ४३८० जना

प्रदेश ५ मा १११०६ जना

कर्णाली प्रदेशमा ३५३६ जना

सुदूरपश्चिम प्रदेशमा ७६८० जना

नेपालमा बितेको २४ घण्टामा थप २ हजार १७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । यो कुल संक्रमितको ६८.६ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३६ हजार ३६७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २१ हजार ५४८ जना र संस्थागत आईसोलेसनमा १४ हजार ८१९ जना छन् । तिमध्ये ३०५ जना संक्रमितको आईसियु र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६६६ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६७५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (मंगलवार) नेपालमा ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५०३ जना संक्रमणमुक्त भएका थिए भने १८ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता