Logo

सरकार भन्छ, ‘बेहोस भएमा वा होला जस्तो भएमा मात्र अस्पताल आउनू’



काठमाडौं, २२ असोज । अहिलेसम्मकै सर्वाधिक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले बिरामीलाई अस्पताल जान रोक लगाउन थालेको छ ।

कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको सरकारले मृत्युको अन्तिम अवस्थामा मात्रै अस्पताल आउन आग्रह गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिरामीलाई घुमाउरो तरिकाले मृत्यु शय्यामा पुग्ने अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका छन् । अनलाइनमार्फत गरिएको नियमित पत्रकार सम्मेलनमा डा. गौतमले सामान्य रुघाखोकी लागेमा अस्पताल नआउन सबैमा अपिल गरेका हुन् ।

उनले भनेका छन्, ‘सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानु पर्दैन । कुनै पनि बिरामी बेहोस भएमा वा होला जस्तो भएमा, पिसाब बन्द भएमा वा कम भएमा मात्रै अस्पताल जानुहोस् ।’
सरकारको यस्तो आग्रहप्रति चिकित्सक नै खुसी छैनन् ।

‘स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यसचिव लक्ष्मण अर्याल र डा. गुणराज लोहनीको अगुवाइमा जुन अपिल गरिएको छ, यो जनताको मौलिक हकविरुद्ध छ,’ मन्त्रालयमै कार्यरत एक चिकित्सकले भने, ‘सामान्य अवस्थाको बिरामी अस्पताल पुग्दा पिसिआर रिपोर्ट नभएका कारण अकालमा मर्नुपरेको छ । अब झन् अन्तिम अवस्थामा अस्पताल पुर्‍याएको बिरामीले सेवा पाउन पिसिआर रिपोर्ट कुर्दाकुर्दै मृत्यु हुने अवस्था आउनेछ ।’

सरकारले अस्पताल नआउन आग्रह गरेको भए पनि नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ । यसमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ त्यस्तै प्रत्येक नेपालीलाई ‘आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने’ स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरिएको छ ।

त्यस्तै जनस्वास्थ्य सेवा ऐन, २०७५ को परिच्छेद २ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्वका विषयमा स्पष्ट व्यवस्था छ । जसअनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुन्छ । ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता