Logo

रानीपोखरी सर्वसाधारणको लागि खुला



काठमाण्डौं,चैत १० । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ ।

महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
मानन्धरका अनुसार रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट मान्छेहरु रानीपोखरीमा जान थालेका छन्,’ प्रवक्ता मानन्धरले भने ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन । लामो समय बन्द हुँदा र मर्मत सम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता