Logo

अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउन साझा सहमती खोज्दै जसपा



काठमाण्डौं,चैत ९ । जनता समाजवादी पार्टी (जसपा) ले बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताएको छ।

जसपाले उम्मेदवार तय गर्ने गरी सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गरिनुपर्ने पक्षमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बुधबारको बैठकमा छलफल भएको हो।

सत्ता गठबन्धनको बुधबार नै बालुवाटारमा बसेको बैठकमा पनि अध्यक्ष उपेन्द्र यादवले यस विषयमा कुराकानी राखेका थिए। तर यस विषयमा गठबन्धनले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।

गत मंसिर ४ मा भएको चुनावमा बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। चैत ३ मा उनी उपराष्ट्रपति बनेपछि रिक्त यो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

जसपाले अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा उम्मेदवार बनाउन खोजेको छ। त्यसका लागि सत्ता गठबन्धनका दलहरूको सहमति लिन जसपाले गृहकार्य गरिरहेको छ।

जसपा प्रवक्ता मनिष सुमनले मंसिर ४ को चुनावमा बारा २ जसपाले नै जितेकोले उपनिर्वाचनमा पनि जसपाकै उम्मेदवार रहने गरी सहमति गरिनुपर्ने बताए।

बारा २ मा सत्ता गठबन्धनबाट जसपाको उम्मेदवारलाई नै साझा उम्मेवार बनाएर उपनिर्वाचनमा जानुपर्ने उनको भनाइ छ।

‘बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपाको हुन्छ भन्ने हाम्रो अपेक्षा छ। त्यसमा हाम्रो हक लाग्छ र उम्मेदवार हाम्रैतर्फबाट हुन्छ,’ उनले भने।

सत्ता गठबन्धनमै रहेका जनमत पार्टी, लोसपालगायतले पनि बारा २ मा उम्मेदवारी दिनेबारे छलफल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता