भोलि देखि एसइई परीक्षा सुरु हुँदै,
काठमाडौं । भोलिदेखि एसइई सुरु हुँदै, परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या( भोलिदेखि माध्यमिक शिक्षा परीक्षा(एसइई) सुरु हुँदैछ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दसै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् ।
टाढा–टाढाका विद्यार्थी हिजोअस्तिदेखि नै बागलुङ बजार झरेर होटलमा बसेका छन् । ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारी १५ विद्यार्थी लिएर आफै सदरमुकाम आउनुभएको छ । “विद्यार्थीलाई होटलमा राखेका छौँ, आज परीक्षा केन्द्र देखाउन लानु छ”, उहाँले भन्नुभयो, “परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या छ ।” एकातिर अभिभावकको खर्च बढ्ने र अर्कातिर एक्कासि नयाँ ठाउँमा गएर परीक्षा दिनुपर्दा गाउँका विद्यार्थीलाई मनौवैज्ञानिक असर पर्ने प्रअ अधिकारीको भनाइ थियो । नेपाल माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ पशु विज्ञानको पढाइ हुन्छ । परीक्षा केन्द्र सदरमुकाममा तोकिँदा यातायातदेखि होटलको खाना र बासमा विद्यार्थीको ठूलो खर्च हुने गरेको छ ।