फेरी बढेर आयो इन्धनको मुल्य, पेट्रोलमा मात्र ३२ रुपैया बढ्यो
काठमाडौ । लगातार बढ्दै आएको इन्धनको मुल्य फेरी बढ्ने संकेत देखिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको मूल्य बढाएर पठाएको छ। अहिलेको मुल्य अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा मात्र लिटरकै ३२ रूपैयाँ घाटा छ । घाटा समायोजन गर्ने हो भने फेरी मुल्य बढ्ने देखिएको छ ।
बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको छ। त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेर आएको छ।
यो बढेर आएको मूल्यले आयल निगमको घाटा झनै बढेर जानेछ। यसअघि निगमलाई पेट्रोल लिटरमा १६ रूपैयाँ हाराहारी घाटा थियो। अब यो घाटा ३२ रूपैयाँ नाघेको छ। डिजेलमा पनि ३६ रूपैयाँ बढी घाटा हुनेछ। निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा एक करोड ५० लाख, हवाई इन्धन आन्तरिकतर्फ एक करोड १३ लाख र बाह्यतर्फ साढे १७ करोड रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।
सबै प्रकारका इन्धनबाट नाफा र घाटाको समायोजन गर्दा बुधबारको मूल्यअनुसार निगमलाई अब १५ दिनमा ५ अर्ब ३१ करोड रूपैयाँ घाटा छ। यो भनेको महिनामा साढे दस अर्ब बढी हो।
युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेका कारण पनि मुल्य यसरी आकासीएको हो । कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो। अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो। त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ।