Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट जहाज उडेनन्, यात्रु अलपत्र



काठमाडौ । त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएको छ । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द भएका हुन् ।

तारा एयरको आज ६ उडान रद्द भएका छन् । बलिउड फिल्म ‘उचाई’को छायाँकनमा रहेका कलाकारहरुको टिमलाई मनाङ लैजाने तालिका थियो । आज यी उडान हुन सकेनन् । त्यस्तै, डोल्पा, जोमसोङ, टक्सार, तुम्लिङटार लगायतको पुर्व निर्धारित उडानहरु पनि आज रद्द भएका छन् । उडान रद्द हुँदा सयौ यात्रुहरु एयरपोर्टमै अलपत्र परेका छन् ।

हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन९चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार अहिले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १ र २ मा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव जारी रहेको र अझै केही दिन बदली र वर्षा हुने उनले बताए । साथै सुदूरपश्च्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता