कुलमानलाई ओलीले लगाए यस्तो गम्भिर आरोप, के ओलीले भनेजस्तै कुलमानले हेटौंडालाई नक्कली ट्रान्सफरमरको शहर बनाएका हुन् ?

काठमाडौ । काठमाडौ लगायत मुलुकका धेरै ठाउँमा १८ घण्टा सम्मको लोडसेडिगं हटाएर झलमल पारेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबैले वाहवाही गरे । उनको कार्यकाल सकिएपछि पनि पुन नियुक्त गर्नुपर्ने माग सबैतिरवाट उठ्यो । तर तत्कालिन ओली सरकारले उनलाई पुन दोहोर्याएन । तर शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई फेरी विद्युत प्राधिकरणमा ल्याइएको छ ।
देउवा सरकारले पुन कार्यकारी निर्देशक बनाइएका कुलमानलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भिर आरोप लगाएका छन् । उनले कुलमानलाई नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाएका छन् ।
नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएको दावी गर्दै उनले त्यस्तै व्यक्तिलाई सरकारले खोजी९खोजी प्राधिकरणमा ल्याएको टिप्प्णी गरे । सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा बोल्दै ओलीले भनेका छन्, ‘एमाले आउनुअघि ल्याएको डुप्लिकेट ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै छ, पैसा हालेर किन्यो, काम नलागेर राखेको । शहरैजस्तो छ ट्रान्सर्फमरको,’ उनले भनेका छन्,’कति बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर छ ।’
ओली सरकारले कुलमानलाई पुन नियुक्त नगरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । देउवा सरकारले हितेन्द्रलाई आयोगमा पठाएर प्राधिकरणमा पुन कुलमानलाई ल्याएको छ । ओली सरकारको यस्तो कामको ओलीले विरोध गरेका छन् ।
कुलमान घिसिङलाई प्राधिकरणका नियुक्त गरिएको र प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई अन्यत्रै नियुक्त गरिएकोप्रति उनले असन्तुष्टि पनि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन् । अहिलेको सरकार ‘बहादुर’ भएको भन्दै ओलीले नक्कली ट्रान्सफरमर ल्याउने ब्यक्तिलाई खोजी खोजी ल्याएको टिप्पणी गरे ।
‘सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले विस्थापित गर्छ । त्यो पनि मु द्दा छ अदालतमा,’ ओलीले भनेका छन् ।
प्राधिकरणको हेटौंडास्थित केन्द्रिय भण्डारका प्रमुख बुद्धकुमार कार्कीले प्राधिकरणले पछिल्लोपटक ल्याएको ८ हजार ट्रान्सफर्मर गुणस्तरयूक्त प्रमाणित भएर लाइनमा जोडिइसकेको कार्कीले बताएका छन् । उनले ओलीको सो कुरा तथ्यमा आधारीत नभएको संकेत गरेका छन् ।
कार्कीका अनुसर ७० वटा जति मात्रै ट्रान्सफर्मर तत्कालै प्रयोग गर्न सकिने अवस्थामा छन् । प्राधिकरणका विभिन्न आयोजनाहले खरिद गरेर राखेका करिब ७० वटै ट्रान्सफर्मर पनि प्राधिकरणमा छन् ।
प्राधिकरणका अनुसार दुई साताअघि वितरण केन्द्र प्रमुखहरुसँग गरेको बैठकमा पनि ट्रान्सफर्मर र मिटर अभावको विषय उठेको थियो । प्राधिकरणका एक अधिकारीका अनुसार विगतमा ट्रान्सफर्मर, पोल र मिटर पर्याप्त नकिन्ने र समस्यामा परेपछि जनताले नै राजनीतिक पहुँच प्रयोग गर्नुपर्ने अवस्था थियो । तर, आपूर्ति सहज गरेपछि नेता कार्यकर्ताले ट्रान्सर्फमर र पोल वितरण गरेर राजनीतिक लाभ लिने अवस्था अन्त्य भएको थियो ।
‘अहिले धेरै स्थानीयस्तरमा पहुँचमार्फत प्राधिकरणबाट पोल र ट्रान्सफर्मर दिलाएर राजनीति गर्ने अवस्था नभएपछि कतिपय दलका नेतारकार्यकर्ता छटपटाएका छन्,’ ती अधिकारी भन्छन्,’सायद पूर्वप्रधानमन्त्री ज्युलाई पनि त्यस्तै व्यक्तिहरूले गलत सूचना दिएर भ्रममा पारे होलान् ।’