Logo

तीन महिना देखि मोडल निशाको उपचार गरेको नर्भिक अस्पताल किन भयो निरास  ? पत्रकार सम्मेलन गर्दै यस्तो भन्यो



काठमाडौ । दुर्घटनामा परेर लामो समय थलिएकी मोडल तथा कलाकार निशा घिमिरेको उपचारमा नर्भिक अस्पतालले ५० लाख भन्दा बढी खर्च गरिसकेको छ । उपचारको अभावमा घरमै राखिएकी उनलाई अस्पतालले उद्दार गरेर उपचार सुरु गरेको थियो । तीन महिना सम्म उपचार गरिसकेपछिको अवस्थाका बारेमा जानकारी दिन मंगलवार अस्पतालले पत्रकार सम्मेलन गरेको छ ।

अस्पतालले निशाको स्वास्थ अवस्था स्थिर रहेको जनाएको छ । अस्पतालले उनको उपचारवाट स्वास्थ्यमा उल्लेख्य सुधार आउन नसकेको जानकारी दिएको छ । नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले २७ जेठमा उनलाई उपचारका लागि अस्पताल लगेकी थिइन् ।

चौधरीले नै घिमिरेको उपचारमा लाग्ने खर्च व्यहोर्दै आएकी छिन् । घिमिरेको उपचारमा ५० लाखभन्दा धेरै खर्च भइसकेको र अस्पतालमा उपलब्ध सबै प्रविधि, सिप र विधिको प्रयोग गरिएको अस्पतालका कर्पोरेट कम्यूनिकेशन एन्ड पिआर प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

घिमिरेको उपचारमा संलग्न डाक्टर पंकज जलानका अनुसार दुर्घटनाका कारण उनलाई ब्रेन इन्जुरी भएको छ । अवस्था निकै जटिल भएकाले पूर्ण रुपमा सामान्य हुने सम्भावना नदेखिएको उनले बताएका छन् । लामो समय उपचारविहीन अवस्थामा बसेकाले अहिले आएर कोसिस गरिएपनि अपेक्षित रुपमा घिमिरेको स्वास्थ सुधार हुन नसकेको डाक्टर जलानले बताए ।

‘स्वास्थ अवस्था यस्तै रहने हो भने घिमिरेलाइ राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ । यो विषयमा पनि आफूले सोचिरहेको नर्भिककी प्रबन्ध सञ्चालक मेघा चौधरीले बताउनुभएको छ,’ नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फिल्म पढ्नका लागि भारत गएका बेला देहरादूनमा सडक दुर्घटनामा परेर उनी घाइते भएकी थिइन् । सुरुवातमा भारतमै उपचार गरिएपनि आर्थिक रुपमा उपचार खर्च धेरै पर्ने देखिएपछि बाबुआमाले उनलाई नेपालमै ल्याएका थिए । त्यसपछि तीन महिना ट्रमा सेन्टरमा उपचार गरिएपनि उनको स्वास्थमा सुधार आएको थिएन ।

र, उनलाई चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न थेरापी सेन्टरहरूमा लगातार थेरापी गरिएको थियो । परिवारलाई थेरापी खर्च जुटाउन समेत मुस्किल परेको र को रो ना संक्रमण पनि त्यही समयमा बढेपछि उनी केही समय घरमै थन्किएकी थिइन् । त्यहीँबाट २७ जेठमा मेघा चौधरीले उनको उद्धार गरेकी हुन्, उद्धारको समय घिमिरेको तौल घटेर २० किलोमा झरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता