Logo

के पेटको भएको बच्चालाई कोरोना सर्छ कि सर्दैन ?  यसो भन्छन् विज्ञ



 

काठमाडौँ  । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ ।

तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हुँदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने ९रोगसँग लड्ने क्षमता० हुँदा सरसफाइलगायत स्वास्थ्य सुरक्षाका सन्दर्भमा बढी सतर्कता अपनाउनुपर्छ । गर्भवती अवस्थामा यसै पनि विभिन्न स्वास्थ्य समस्या आउने भएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

गर्भवती अवस्थामा महिलामा ‘हार्मोन’ परिवर्तन हुने भएकाले यस्तो अवस्थामा कोरोना सङ्क्रमित हुनु भनेको आमा र शिशु दुवैलाई खतरा हुन्छ ।

यस्तो बेला सामान्य लक्षणमात्र देखिएमा घरमा एकान्तवास बस्नुपर्छ तर अक्सिजनको मात्रा कम भएमा, श्वासप्रश्वास छिटो–छिटो भएमा, एक सयभन्दा बढी तापक्रम भएमा वा लगातार खोकी आएमा चिकित्सकसँग परामर्श लिने वा अस्पतालको सम्पर्कमा जानुपर्ने सुझाव डा। सुवेदीको छ ।

उनका अनुसार, कोरोना सङ्क्रमित गर्भवतीको सहज प्रसूति गराउन सकिन्छ तर केही गरी निमोनिया छ वा अन्य समस्या आएमा शल्यक्रिया गरी प्रसूति गराउनुपर्ने हुन्छ ।

यसरी प्रसूति गराउनचाहिँ सामान्य स्वास्थ्यचौकीभन्दा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ । किनभने सङ्क्रमित आमा वा शिशुलाई सघन कक्षदेखि भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ ।

प्रसूति गृहमा दैनिक दुई÷तीनजना कोरोना सङ्क्रमित गर्भवती पुग्ने गरेका छन् । प्रसूतिका लागि चिकित्सकले दिएको समय कटेको अवस्था वा टाउको दुख्नेलगायत कुनै पनि असजिलो वा स्वास्थ्य समस्या भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव डा। सुवेदीको छ ।

गर्भवतीको सुरक्षा

गर्भावस्था जोखिमको अवस्था पनि हो । त्यसैले गर्भवती महिलाले खानपान, हिँडडुल र स्वास्थ्य सजगतामा बढी ध्यान दिनुपर्ने हुन्छ । घरभित्रै हिँडडुल गर्दा कोरोना जोखिम कम हुन्छ । खासगरी श्वासप्रश्वास समस्या भएका महिलालाई अत्यधिक प्राथमिकतासाथ उपचार गर्नुपर्ने डा। सुवेदीले बताए ।

गर्भवतीले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन पोषणयुक्त खानपानमा ध्यान दिनुपर्छ । उनले भने, “भिटामिनयुक्त खानपान, दूध र दूधजन्य पदार्थ, फलफूल, हरियो सागपात, गेडागुडी, माछामासु सन्तुलित रूपमा खानुपर्छ ।”

त्यस्तै, पानी प्रशस्त पिउनुपर्छ । घाममा बस्दा ‘भिटामिन डी’ पाइने भएकाले गर्भवतीलाई विशेषगरी बिहानीपखको घाममा बस्नुपर्छ । गर्भवती भएको अवस्थामा रासायनिक परिवर्तन हुने भएकाले त्यसको सन्तुलनका लागि खानपान तथा सन्तुलित व्यायाम आवश्यक हुने डा। सुवेदीले बताए ।

गर्भवती महिलाले सुत्ने आसनमा पनि सचेत हुनुपर्छ । गर्भवती महिलाले बेलुका बेलैमा सुत्ने र आठ घण्टा मस्त निदाउनुपर्ने हुन्छ ।

मनोचिकित्सक तृष्णा घोषले गर्भावस्था तनाव निकै बढी हुने हुनाले आफूलाई प्रिय लाग्ने सङ्गीतको धुन सुन्नुपर्ने बताइन् । सकारात्मक समाचार सामग्री हेर्ने, सुन्ने तथा पढ्नाले शारीरिक तथा मानसिक रूपमा ऊर्जा मिल्ने उनी भन्छिन् ।

आमा कोरोना सङ्क्रमित भए पनि प्रसूतिपछि शिशुलाई स्तनपान गराउनुपर्छ । यद्यपि, सङ्क्रमित आमा र शिशुलाई दिनभरि सँगै राख्नुहुँदैन ।

धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ अनिष श्रेष्ठका अनुसार, स्तनपानबाट शिशुमा रोगसँग लड्न सक्ने क्षमता विकास हुन्छ । त्यसैले दुई घण्टा फरकमा स्तनपान गराउँदा राम्रो हुन्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता