Logo

गोँगबु नयाँ बसपार्कमा यात्रुले टिकट लिन अब यो तरिका !



 

काठमाडौँ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।

नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टरको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो । टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् ।

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

 

ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउनुहुन्छ । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ ।

ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लजसमेत सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । ल्होत्सेले यातायात व्यवसायीसँगको सहकार्यमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालनमा ल्याएको ल्होत्सेका मानव संशाधन प्रमुख पङ्कज मल्ल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता